गोरखा र धादिङका स्थानीयबीच कुटाकुट हुँदा प्रहरी घाइते

4.06K
shares

धादिङ । धादिङ र गोरखा जिल्लाका दुई समुहबीच एकादशी मेलामा भएको झगडामा प्रहरी समेत घाइते भएका छन् । धादिङको ज्वालामुखी गाउँपालिका–५ बुङकोटघाटमा दुई जिल्लाका स्थानीयबीच आइतबार राति झडप भएको हो । आइतबार राति एक बजेतिर एकादशीको मेलामा गएका धादिङ र गोरखाका स्थानीयहरुबीच ढुंगा र भाटा हानाहान भएपछि झगडा छुट्याउन गएका प्रहरी घाईते भएका हुन् ।

धादिङका असई विनयकुमार पाण्डे घाईते भएको धादिङका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए । टाउकोमा गम्भीर चोट लागेको उनको काठमाडौंमा उपचार भइरहेको छ । धादिङ र गोरखाको गरी १० जनाको प्रहरी टिमलाई मेला परिसरमा सुरक्षाका लागि खटाइएको धादिङ प्रहरीले जानकारी दिएको छ । झडपमा ४ वटा बोलेरो र ६ वटा मोटरसाइकल तोडफोड भएको छ ।

गोरखातर्फको दुईवटा बोलेरो र ४ वटा मोटरसाइकल र धादिङतर्फको २ वटा बोलेरो र २ वटा मोटरसाइकलमा तोडफोड भएको ज्वालामुखी गाउँपालिका ५ का वडाअध्यक्ष कृष्ण काप्रीले जानकारी दिए ।