पृथ्वीराजमार्ग ठप्प भएपछि ग्यासको हाहाकार
वि.सं.२०८३ भदौ २२ सोमवार २०:२३
shares

२२ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण पृथ्वीराजमार्ग ठप्प भएपछि काठमाडौं उपत्यकासहित देशभर खाना पकाउने ग्यासको अभाव थप चुलिएको छ ।
धादिङको कृष्णभिरमा पहिरो गएपछि पृथ्वीराजमार्गमा सवारीसाधनको आवागमन बन्द छ । देशकै प्रमुख ‘लाइफलाइन’का रूपमा रहेको यो सडक अवरुद्ध हुँदा खाद्यान्न तथा अन्य अत्यावश्यक उपभोग्य वस्तुको ढुवानी प्रभावित भएको छ ।
सडक अवरुद्ध भएपछि अहिले सबैभन्दा बढी खाना पकाउने ग्यासको अभाव देखिएको छ । भदौ १० गते रसुवामा आएको बाढीअघि नै ग्यासको अभाव रहेकोमा सडक अवरोधपछि समस्या थप गम्भीर बनेको हो ।
ग्यास पाउने आशमा उपभोक्ताहरू डिपो तथा बिक्री केन्द्रमा रातभर लाइन लाग्न थालेका छन् । काठमाडौंका सिफल, कलंकी, बालाजुलगायत क्षेत्रमा ग्यास लिन उपभोक्ताहरू सिलिन्डर बोकेर लामो समयदेखि लाइनमा बसिरहेका छन् ।
सडक किनारमा उपभोक्ताले सिलिन्डर मिलाएर राखेका छन् । सिलिन्डरलाई डोरीले बाँधेर पालो छुट्याइएको छ । ग्यास उद्योग तथा डिपोले टोकन वितरण गरेपछि सोही टोकनअनुसार उपभोक्ताहरू लाइनमा बस्ने गरेका छन् ।
बाढी तथा पहिरोका कारण काठमाडौंका उद्योगहरूले ग्यास बोकेका बुलेट ल्याउन सक्ने अवस्था छैन । काठमाडौंमा रहेका उद्योगहरूले तराईका उद्योगमा सिलिन्डर भरेर काठमाडौं ल्याउने गरेका छन् । तर, सडक अवरोधका कारण नियमित आपूर्ति प्रभावित हुँदा उपत्यकामा ग्यासको अभाव बढेको हो ।





















