मकवानपुरमा युवक घरभित्रै मृत फेला, परिवारका सदस्यसहित ५ जना पक्राउ

390
shares

२२ भदौ, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका–१२ धारापानीमा ३५ वर्षीय राजकुमार खत्री घरभित्रै मृत फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गत १९ भदौमा दिउँसो सवा १ बजे खत्री घरको सुत्ने कोठामा मृत अवस्थामा भेटिएका थिए। उनको टाउको तथा शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि प्रहरीले घटनालाई शंकास्पद मानेर अनुसन्धान अघि बढाएको हो।

अनुसन्धानका क्रममा प्रहरीले मृतककी पत्नी ३५ वर्षीया सलिना घले, आमा ६० वर्षीया गोमा खत्री, भाइ ३३ वर्षीय दिनेश खत्री तथा ४५ वर्षीय अमर खत्री र ४५ वर्षीय राजेन्द्र घलेलाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार उनीहरूको घटनामा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता हुनसक्ने देखिएपछि ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट कुकुरसहितको टोलीसमेत परिचालन गरिएको थियो।

पोस्टमार्टमपछि सोमबार मृतककी दिदी सजिना खत्रीले शव बुझेर लगेकी छन्। राजकुमारका तीन सन्तान रहेको प्रहरीले जनाएको छ।


divya collage
unigloble collage