‘आन्दोलन अपहरण गर्नेहरू को थिए, देशलाई कहाँ पुर्‍याए?’:प्रचण्ड

208
shares

पूर्वप्रधानमन्त्री तथा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत वर्ष भएको जेनजी आन्दोलनमा घुसपैठ भएको दाबी गर्दै आन्दोलनलाई अपहरण गर्नेहरूबारे प्रश्न उठाएका छन्।

बागमती प्रदेशका आर्थिक मामिला मन्त्री सरल सहयात्री पौडेलकी दिवंगत आमा गंगा देवी पौडेलको तेह्रौँ पुण्यतिथिमा बाह्रबिसेमा आयोजित श्रद्धाञ्जली सभामा प्रचण्डले भदौ २३ गते भ्रष्टाचारविरोधी, सुशासन र प्रेस स्वतन्त्रताको मागसहित सुरु भएको आन्दोलनप्रति आफूहरूको समर्थन रहेको बताए।

तर आन्दोलनमा बाहिरी समूहको प्रवेश भएपछि स्वयं जेनजी अभियन्ताहरूले नै आन्दोलनमा घुसपैठ भएको भन्दै आन्दोलनबाट अलग हुन आग्रह गरेको उनले बताए।

प्रचण्डले आन्दोलन कसले हाइज्याक गरेको थियो र त्यसमा घुसपैठ गर्नेहरू को थिए भन्ने विषयमा गम्भीर अनुसन्धान आवश्यक रहेको बताए। साथै, त्यस्ता गतिविधिले देशलाई अहिलेको अवस्थामा कसरी पुर्‍यायो भन्ने प्रश्नसमेत उनले उठाए।

भदौ २३ र २४ गते भएका घटनाको वास्तविकता गहिरो अध्ययनमार्फत सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ। मानव अधिकार आयोग र सुरक्षा निकायले तयार पारेका प्रतिवेदनसमेत हराएको आरोप सार्वजनिक भइरहेकाले त्यसको सत्यतथ्य बाहिर ल्याउनुपर्ने उनले बताए।

भदौ २३ गते ज्यान गुमाएका १९ जना युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रचण्डले आफू त्यतिबेला प्रमुख प्रतिपक्षी दलको नेता रहेको स्मरण गरे। गोली चलेको खबर पाएपछि मध्यपहाडी लोकमार्ग अभियान स्थगित गरेर आफू काठमाडौं फर्किएको उनले बताए।

सम्बोधनका क्रममा उनले रसुवा, भोटेकोशी र त्रिशूली क्षेत्रमा भएको बाढीजन्य विनाशलाई जलवायु परिवर्तनसँग पनि जोडेर हेर्नुपर्ने बताए। कम कार्बन उत्सर्जन गर्ने नेपालजस्ता देशले जलवायु परिवर्तनका कारण ठूलो क्षति व्यहोर्नुपरेको भन्दै उनले बढी कार्बन उत्सर्जन गर्ने धनी राष्ट्रहरूले नेपाललाई जलवायु न्याय र क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गरे।


divya collage
unigloble collage