“चाडपर्वलाई लक्षित नागरिक सहयता कक्षको स्थापना”
वि.सं.२०८२ असोज २ बिहीवार १९:२४
shares

काठमाडौ । चाडपर्वलाई लक्षित गरि सरोकारवाला निकायसँगको समन्वयमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका १३ स्थानमा नागरिक सहयता कक्षको स्थापना गरेको छ । काठमाडौँको नयाँबसपार्कमा आयोजित एक कार्यक्रमका बीच आज काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीज्युको प्रमुख आतिथ्यमा नयाँबसपार्कमै रहेको नागरिक सहायता कक्षको उद्घाटन भएको हाे।
उद्घाटन कार्यक्रममा देशको वर्तमान परिवेशमा प्रहरी सङ्गठनले विभिन्न समस्याका बाबजुत पनि उत्कृष्ट सेवा प्रवाह गर्न अनेक प्रयास गरिरहेको सन्दर्भको पृष्ठपोषण गर्दै आजदेखि सञ्चालनमा ल्याइएका नागरिक सहायता कक्षले सुरक्षित यात्राका लागि विभिन्न सूचनाको सङ्कलन गरि आमयात्रुको यात्रालाई सहज गराउने प्रयास गर्नेमा आफू आश्वस्त रहेको बताउनु भयो ।

सो कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय बहादुर स्वार र यातायात व्यवस्था विभागका सूचना अधिकारी एवम् निर्देशक गणेशमान सिंह राईले पर्वलाई लक्षितगर्दै ट्राफिक प्रहरीले नागरिक सहायता कक्ष स्थापना गरेकोमा धन्यवाद व्यक्त गर्नु भयो।
उक्त कार्यक्रममा आयोजकका तर्फबाट बोल्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सबै नागरिक सहायता कक्षबाट यात्रुले आफूलाई आवश्यक पर्ने सूचना लिनुका साथै कुनै समस्या परेमा नागरिक सहायता कक्षमा जानकारी गराइ ट्राफिक प्रहरीको सहयोग सजिलै लिन सकिने विषय जानकारी गराउँदै सुरक्षित यात्राको कामना समेत गर्नु भयो ।
उक्त कार्यक्रममा यातायात व्यवसायी, यातायात मजदूर, ट्राफिक प्रहरी, विभिन्न संस्थाका स्वयंसेवक तथा सञ्चारकर्मीहरु उपस्थिति रहेको थियो ।















