सरकारले विदेशमा अलपत्र नेपालीको ‘उद्दार उडान’ असार २८ पछि स्थगित गर्ने

9.28K
shares

काठमाडौं।

कोरोना महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपाली नागरिकलाई उद्दार उडानमार्फत् थालिएको स्वादेश फर्काउने अभियान असार २८ गतेपछि स्थगित हुने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत जेठ ३२ गतेदेखि थालेको यस अभियानको समीक्षा गर्दै असार २८ पछि तत्काल विदेशबाट उद्दार उडान नगर्ने जनाएको हो ।

पछिल्लोपटक उद्दार उडानमा संलग्न दुई वटा नेपाली वायुसेवा कम्पनीमा १८ जना पाइलट, क्याबिन क्रू लगायत उडानमा संलग्न हुने कर्मचारीमा कोरोना पुष्टि भएपछि सरकारले तत्काल उद्दार उडान रोकेर समीक्षा गर्न लागेको जानकारी गराइएको छ ।

कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई उद्दार गर्न मन्त्रालयले पहिलो चरणमा (जेठ २८ देखि असार ११ सम्म) ६७ वटा चार्टर उडानलाई अनुमति दिएको थियो । त्यस्तै, असार २८ सम्म कम्तीमा ४ पटक उद्दार उडानको तालिकाको समय थप गरिएको थियो ।

हालसम्म उद्दार गरिएका नागरिकहरुको व्यवस्थापन कसरी भयो रु भन्ने विषयमा केन्द्रदेखि स्थानीय तहसम्म समीक्षा गर्नका लागि असार २८ पछि उद्दार उडान नहुने जानकारी गराइएको छ । तर, कुनै मुलुकमा उद्दार नगरी नहुने भएमा विशेष अनुमति दिइने जानकारी पनि गराइएको छ ।

औषधिजन्य कार्गो उडानलाई भने अनुमति दिइने जनाइएको छ । साथै, समीक्षा सकिएपछि पुनः उद्दार उडान गर्नुपर्ने देखिएमा सरकारले निर्णय गर्ने पनि जनाइएको छ ।

अहिले सरकारले नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सलाई उद्दार उडानका लागि अनुमति दिएको छ । त्यस्तै, विदेशी वायुसेवातर्फ फ्लाई दुबई, जजिरा एयरवेज, कतार एयरवेज, टर्किस एयरलायन्सलगायतलाई नेपाली नागरिकको उद्दार गर्न अनुमति दिएको छ ।

हालसम्म १ सय ४३ वटा उद्दार उडानबाट २२ हजार ३ सय ६९ नेपाली काठमाडौं आइपुगेका कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले जानकारी गराएको छ । जहाँ कतारबाट २७ सय, मेलेसियाबाट २४ सय, बहराइनबाट ५ सय, कुवेतबाट ४७ सय, यूएईबाट ४१ सय, साउदी अरेबियाबाट ३२ सय गरी २२ वटा राष्ट्रबाट नेपाली नागरिकको उद्दार भइसकेको छ ।

सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीको निशुल्क उद्धार गर्नु भन्दै दुई साता अघि सरकारको नाममा आदेश जारी गरेपछि सरकारले उद्दार उडान स्थगित गर्ने निर्णय यस अघि नै लिइसकेको थियो भने पर्यटन मन्त्रालयले यसबारे यसै साताको सुरुमा संकेत दिइसकेको थियो ।

यद्धपि अझै पनि उद्दारको प्रतीक्षामा ठूलो संख्यामा नेपालीहरु विदेशको बिभिन्न भूमिका अलपत्र अवस्थामा छन् । उनीहरुलाई सरकारलाई खर्च तिराएर नभइ आफै खर्च गरेर स्वदेश फर्कन प्रतीक्षारत छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083