नक्कली भुटानी प्रकरणमा अमेरिकी चासो, अनुसन्धानमा कडाइ गर्न दबाब

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई गैरकानुनी रुपमा अमेरिका पठाउने षड्यन्त्रको खुलासा भएसँगै यस मामिलामा अमेरिकाले आफैं अनुसन्धान गर्ने अग्रसरता देखाएको छ।
स्रोतका अनुसार अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई फोन गरेका थिए ।
जानकारी अनुसार नेपाली समयअनुसार सोमबार बेलुका (अमेरिकी समय सोमबार बिहान) ती अधिकारीले प्रधानमन्त्री प्रचण्डलाई फोन गरेका हुन्।
अमेरिकी विदेश मन्त्रालयको दक्षिण एसिया मामिला हेर्ने विभागका ती उच्च अधिकारीले प्रचण्डलाई फोन गरेर नक्कली शरणार्थी बनेर अमेरिका जानेहरुको छानबिन गर्ने विषयमा चासो देखाएका थिए ।
स्रोतले भन्यो ‘ती उच्च अधिकारीले प्रचण्डलाई फोन गरेर यसअघि नै नक्कली शरणर्थी बनेर अमेरिका आइसकेका नेपालीहरुको छानबिन तपाइँले गर्नुहुन्छ वा हामीले गर्ने ? भनेर सोधेका थिए।’
यो मामिलाको खुलासा भएसँगै यसअघि पनि नेपालीहरु नक्कली शरणार्थी बनेर अमेरिका पुगिसकेको कुरामा अमेरिका विश्वस्त देखिएको स्रोतले बतायो।
स्रोतका अनुसार अहिले भएको यो खुलासा नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने षड्यन्त्रको दोस्रो वा तेस्रो चरण भएको अमेरिकाको विश्वास छ।
स्रोतका अनुसार अमेरिकाले यसअघि नेपालबाट तेस्रो मुलुक पुनर्वास कार्यक्रम अन्तर्गत अमेरिका पुगेका भेटानी शरणार्थीहरुमा पनि नक्कली भुटानी शरणार्थी पठाएको आशंका गर्दै अमेरिकारले अहिले नक्कली भुटानी शरणार्थी बनेर अमेरिका जान लागेकालाई उताबाट पैसा आएको भन्दै चासो राखेको छ।
तर, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने अमेरिकाको तर्फबाट फोन सम्पर्क भएको कुरालाई पुष्टि गरेनन्। विदेशी कूटनीतिज्ञले यसरी सम्पर्क गर्दा परराष्ट्र मन्त्रालयमार्फत गर्नुपर्ने प्रोटोकल भएको र यसरी कुनै पनि अनुरोध नआएको उनले बताए।
यसैबीच अमेरिकाले नक्कली भुटानी शरणार्थी प्रकरणमा चासो राखेपछि मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच सो विषयमा छलफल भएको थियो।
यो विषयमा अमेरिकारले नै चासो राखेपछि अनुसन्धानलाई प्रभावकारी बनाउनुको विकल्प नभएको निष्कर्ष निकाल्दै प्रहरी अनुसन्धानलाई प्रभावकारी रुपमा अगाडि बढाउने सहमति भएको थियो। स्रोतका अनुसार उनीहरुबीच प्रहरी अनुसन्धानका क्रममा आएका नाममा विषयमा पनि विना कुनै अवरोध प्रहरीलाई सहयोग गर्ने सहमति भएको बताइएको छ।
अहिलेसम्म ठूला दलका केही नेताहरु यस मामिलामा मुछिएको भए पनि नेतृत्व तह भने यसमा मुछिएको छैन। तर, अब कसैलाई जोगाउने प्रयास गर्दा नेतृत्व पनि यसमा संलग्न भएको कुरामा अमेरिकाको आशंका बढ्ने जोखिम देखिएपछि शीर्ष नेतृत्व यस मामिलामा चुप लागेर बस्ने निष्कर्षमा पुगेको छ।
२८ वैशाख २०८०, बिहीवार ०८:५० बजे प्रकाशित