लागू औषध मुद्दाका फरार दुई प्रतिवादी पक्राउ
वि.सं.२०८३ असार ९ मंगलवार १६:०२
shares

काठमाडौं । लागू औषध नियन्त्रण ब्यूरो, कोटेश्वर तथा मातहत कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले लागू औषध मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ।
मिति २०८३/०३/०८ गते जिल्ला प्रहरी परिसर काठमाडौंबाट भागी फरार रहेका प्रतिवादीहरूलाई खोजतलास गर्ने क्रममा प्रहरीले पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेमा मोरङको पथरीशनिश्चरे नगरपालिका–९ का २९ वर्षीय ज्ञानन्द्र खड्का रहेका छन्। उनको साथबाट यसअघि खैरो हेरोइन १९४.६४० ग्राम बरामद भएको थियो। उनीविरुद्ध लागू औषध नियन्त्रण ब्यूरो, कोटेश्वरमा मुद्दा दर्ता रहेको र फैसला हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, बाराको परवानीपुर गाउँपालिका–२ का ३० वर्षीय खडानन्द प्रसाद यादव पनि पक्राउ परेका छन्। उनीसँग सम्बन्धित मुद्दामा खैरो हेरोइन ७८ ग्राम बरामद भएको थियो। यादवलाई लागू औषध नियन्त्रण ब्यूरो, कोटेश्वरमा रहेको मुद्दामा पुर्पक्षका लागि कारागार चलान गरिएको जनाइएको छ।
प्रहरीका अनुसार पक्राउ परेका दुवै जनामाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ। प्रेस विज्ञप्तिमा प्रहरी उपरीक्षक (प्रवक्ता/सूचना अधिकारी) दुर्गा राज रेग्मीले हस्ताक्षर गर्नुभएको छ।
































