नन्दप्रसाद अधिकारी माथि राज्यको चरम अत्यचार, ४३ महिनादेखि शव अलपत्र
वि.सं.२०७५ वैशाख ६ बिहीवार ०१:२२
shares

नन्दप्रसाद अधिकारी
काठमाडौं। राज्यले नन्दप्रसाद अधिकारी माथि चरम अत्यचार गरेको छ । अनशन बस्दा बस्दै मृत्यु भएका गोरखा फुजेल–७ का नन्दप्रसाद अधिकारीको शव त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ४३ महिनादेखि अहिले सम्म शव अलपत्र परेको छ ।
कान्छो छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै काठमाडौंको वीर अस्पतालमा अनशन बसिरहेका बेला ३ सय २९ दिनमा २०७१ असोज ६ गते नन्दप्रसादको निधन भएको थियो । नन्दप्रसादकी श्रीमती गंगामाया भने अस्पतालमै अहिले पनि अनशनरत छिन्,।
दुवैले सँगै अनशन शुरू गरेका थिए । घटनाका दोषीलाई कानुनी कारबाही नभएको भन्दै परिवारले अझैसम्म शव उठाउन मानेको छैन। शवको दाहसंस्कार नहुँदा काजकिरिया पनि भएको छैन। वीरमा अनशनरत गंगामायाले पनि दोषीलाई कारबाही नगरिएसम्म अनशन नतोड्ने अडान राखेकी छन् । उनको छोरो कृष्णप्रसादको २०६१ साल जेठ २४ गते माओवादीले हत्या गरेको थियो। एसएलसी परीक्षा सकेर चितवन हजुरआमाका घरमा आएका बेला माओवादी कार्यकर्ताले अपहरण गरी लगेका थिए। भाइको हत्या भए पनि दोषीले उन्मुक्ति नपाओस् भनेर संघर्ष गर्दागर्दै एक मात्र दाजु नूरप्रसाद पनि केही वर्षदेखि बेपत्ता रहेका छन् ।

हत्यामा संलग्न भएका भनिएका छविलाल पौडेल, भीमसेन पौडेल, कालिप्रसाद अधिकारी, सीता अधिकारी, रामप्रसाद अधिकारी, सुभद्रा अधिकारी, परशुराम पौडेल, हिमलाल अधिकारी, मेघनाथ पौडेल, रामप्रसाद अधिकारी, जानुका पौडेल, विष्णुप्रसाद तिवारी र रुद्र आचार्यले चितवन जिल्ला अदालतमा बयान दिइसकेका छन्। सर्वोच्च अदालतले २०७२ साल पुस ६ गते छविलाललाई पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखी कारबाही गर्नु भनेर आदेश दिए पनि छविलाल त्यसपछि बेपत्ताका छन्।
२०७० चैत ३० गते सरकारी वकिलको कार्यालय चितवनमा अभियोग दर्ता भएको थियो। सुशील कोइराला प्रधानमन्त्री भएका बेला अन्तिम सुनुवाइ भएर बहस नोटसमेत झिकाइसकेपछि पनि कुनै प्रक्रिया अघि बढेको थिएन। यो घटनालाई नजिकबाट हेर्दै आएका नेपाल मानव अधिकार संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले सरकारले चाहेमा मात्र कारबाही हुने तर कारबाही गर्नुपर्छ भन्ने पक्षमा राजनीतिक नेतृत्व उदार नभएको बताए।































