तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझी र छोरा सन्दीप विरुद्ध पक्राउ पुर्जी जारी
वि.सं.२०८० वैशाख २० बुधवार १४:२४
shares
काठमाडौँ। तत्कालीन ऊर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंबाट रायमाझीका बाबुछोरा विरुद्ध पक्राउ पुर्जी लिएको हो ।
नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरले उनीहरू विरुद्ध पक्राउ पुर्जी लिएको हो । बुधबार नै पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको प्रारम्भिक बयानका आधारमा अनुसन्धानलाई अगाडि बढाउन रायमाझीका बाबुछोरा विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
प्रहरीको अनुसन्धानमा भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहसँग राजनीतिक नेतृत्वको साँठगाँठ खुलेको हो। तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई समेत रहेको गिरोहलाई हाल एमाले सचिव रहेका टोपबहादुर रायमाझीले सहयोग गरेको पुष्टि भएको छ । गिरोहका सदस्यले रायमाझीका छोराका नाममा काटेको डेढ करोडको चेक पनि प्रहरीले बरामद गरेको छ ।
पैसा उठाउने गिरोहमा तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राई, उनका छोरा निरज, केशवप्रसाद दुलाल, सन्देश शर्मा, सानु भण्डारी, अशोक पोखरेल, सागर थुलुङ राई र टंक गुरुङ सक्रिय रहेको कागजातबाट पुष्टि भएको छ ।
एमाले सचिव तथा अर्घाखाँचीका सांसद रायमाझीले यस अघि नै सञ्चारमाध्यमसँगको कुराकानीमा दुलाल, भण्डारी, पोखरेलसँग निकटकै सम्बन्ध रहेको र उनीहरूको योजनामा ‘अन्जानवश’ सहयोग गरेको प्रस्टीकरण दिएका थिए। ‘म नेपालको शान्ति प्रक्रियामा संलग्न रहेको पात्र हुँ, तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग बाक्लो भेटघाट हुने क्रममा नेतृ सुजाता कोइरालासँग पनि भेट हुन्थ्यो,’ उनले भनेका थिए, ‘सुजाताजीका सहयोगी रहेका केशव दुलालसँग चिनजान भएपछि निकटको सम्पर्क र भेटघाट हुन थालेको हो । यही क्रममा उहाँहरूलाई सहयोग गरेको हुँ ।’
२०७७ पुस ५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि मन्त्रिपरिषद् पुनर्गठन गर्दा रायमाझी ऊर्जामन्त्री भएका थिए ।































