शहीद दिवस : लैनचौरस्थित शहीद स्मारकमा विशेष समारोह
वि.सं.२०८२ माघ १६ शुक्रवार १२:२१
shares

१६ माघ, काठमाडौं । शहीद दिवसको अवसरमा आज देशभर विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन् । यसै क्रममा काठमाडौं महानगरपालिकाको आयोजनामा लैनचौरस्थित शहीद स्मारकमा विशेष श्रद्धाञ्जली समारोह सम्पन्न भएको छ ।
समारोहमा प्रधानमन्त्री सुशीला कार्कीसहित सरकारका मन्त्रीहरू, उच्चपदस्थ सरकारी अधिकारी, जनप्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो । सहभागीहरूले राष्ट्रका लागि बलिदान दिने शहीदहरूप्रति पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
यसअघि शहीद दिवसको अवसरमा प्रभातफेरि पनि आयोजना गरिएको थियो । शान्तिवाटिकाबाट सुरु भएको प्रभातफेरिमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास तथा शहीदहरूको तस्बिर राखिएको बग्गी सहभागी थिए । प्रभातफेरि शहीद उद्यान लैनचौर पुगेर श्रद्धाञ्जली सभामा परिणत भएको थियो ।
कार्यक्रममा वक्ताहरूले शहीदहरूको त्याग र बलिदानको स्मरण गर्दै उनीहरूको सपना साकार पार्न सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।















