जाँचबुझ आयोगमा ओलीको बयान: ‘सुनियोजित उत्तेजना फैलाइएकाले गोली चलेको हो’

1.72K
shares

 ११ चैत, काठमाडौँ। केपी शर्मा ओलीले भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा सुनियोजित रूपमा उत्तेजना फैलाइएकै कारण हिंसात्मक अवस्था सिर्जना भई गोली चल्ने स्थिति बनेको बताएका छन्।

जेनजी आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोग समक्ष बयान दिँदै पूर्वप्रधानमन्त्री ओलीले युवाहरूलाई अगाडि सारेर आफ्नो उद्देश्य पूरा गर्न खोज्ने समूहले योजनाबद्ध रूपमा उत्तेजना सिर्जना गरेको आरोप लगाएका हुन्।

ओलीका अनुसार उक्त दिन भएको घटनामा युवाहरूलाई उक्साएर हिंसात्मक गतिविधि गराइएको र त्यसका कारण ज्यान जानेगरी हताहती भएको हो। उनले आन्दोलनको मूल उद्देश्यभन्दा बाहिर गएर केही समूहले परिस्थिति बिगारेको दाबी गरेका छन्।

गौरीबहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई बुझाएको प्रतिवेदन भने हालसम्म सार्वजनिक भएको छैन। प्रतिवेदनका विषयवस्तु भने विभिन्न माध्यममार्फत सार्वजनिक भइरहेका छन्।

उक्त प्रतिवेदनको अंशअनुसार ओलीले संसद् भवनमा योजनाबद्ध रूपमा आक्रमण भएको र त्यसपछि स्थिति नियन्त्रणबाहिर जाँदा गोली चलेको दाबी गरेका छन्। उनले आन्दोलनको आडमा संगठित रूपमा उत्तेजना फैलाइएकाले यस्तो अवस्था सिर्जना भएको उल्लेख गरेका छन्।


unigloble collage
baneshwor multiple campus ad -2083