पूर्वमन्त्री गुप्ताको थुनाछेक आदेश सर्वोच्चद्वारा बदर

325
shares

काठमाडौं । पोखरा लिचिबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्तालाई सर्वोच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको छ।

मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले विशेष अदालतको थुनाछेक आदेश बदर गर्दै गुप्तालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

यसअघि विशेष अदालतले १६ पुसमा गुप्तालाई पुर्वपक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। अदालतले मुद्दाका अन्य प्रमाणलाई विश्वसनीय ठहर गर्दै उनलाई थुनामा पठाएको थियो।

सर्वोच्च अदालत प्रशासनले वेबसाइटमार्फत थुनाछेक आदेश बदर भएको तथा धरौटी माग गरिएको जानकारी दिएको छ। यद्यपि, विस्तृत लिखित आदेश भने आउन बाँकी रहेको जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठमाथि कास्कीका प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीलाई कास्कीमै थमौती गर्न ५३ लाख रुपैयाँ घुस लिएको आरोप लगाएको थियो।

यस्तै, भूमि आयोग कास्कीको अध्यक्षमा खमबहादुर पुनको नियुक्तिका लागि थप २५ लाख रुपैयाँ लेनदेनमा संलग्न भएको आरोपसमेत लगाइएको थियो। उक्त प्रकरणमा अख्तियारले ७८ लाख रुपैयाँ बिगो मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

घुस दिएको आरोपमा सुजन लामाविरुद्ध पनि समान बिगो मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर गरिएको छ।


unigloble collage
baneshwor multiple campus ad -2083