कर नीति र बजेटले मध्यम वर्गलाई थप दबाबमा पारेको गगन थापाको टिप्पणी
वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५३
shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा ले सरकारको कर नीति र बजेटले मध्यम वर्गीय नागरिकलाई राहत दिनुको सट्टा थप आर्थिक दबाबमा पारेको बताएका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘सुवर्ण शमशेर इकोनोमिक श्रृङ्खला’ कार्यक्रममा बोल्दै थापाले आयकर छुटको सीमा बढाएर सरकारले राहत दिएको सन्देश दिन खोजे पनि शिक्षा, स्वास्थ्य र विद्युत् जस्ता आधारभूत सेवामा लगाइएको भ्याटले मध्यम वर्गलाई प्रत्यक्ष असर गरेको बताए।
उनले प्रस्तुत बजेटले मुलुकको अर्थतन्त्रमा देखिएको सुस्तता र दीर्घकालीन संरचनागत समस्याको समाधान गर्न नसकेको दाबी गरे। बजेटले जनतामा देखिएको निराशा हटाउने र आर्थिक गतिविधिलाई गति दिने स्पष्ट आधार प्रस्तुत गर्न नसकेको उनको भनाइ थियो।
कृषि क्षेत्रको बजेट कटौतीप्रति पनि उनले असन्तुष्टि जनाए। रासायनिक मल खरिदका लागि अघिल्लो वर्षभन्दा कम बजेट विनियोजन गरिएकाले किसानले थप समस्या भोग्नुपर्ने अवस्था आउने उनले बताए।
सूचना प्रविधि तथा स्टार्टअप क्षेत्रलाई प्रोत्साहन गर्ने सरकारी घोषणा सकारात्मक भए पनि त्यसको प्रभावकारी कार्यान्वयनमा चुनौती रहेको थापाको धारणा थियो। नवप्रवर्तन र उद्यमशीलतालाई बढावा दिन राज्यले आवश्यक पूर्वाधार र अनुकूल वातावरण निर्माण गर्नुपर्ने उनले बताए।
थापाले लोकतन्त्रमा बहुमतको सरकार भए पनि विधिको शासन, संस्थागत प्रक्रिया र लोकतान्त्रिक मूल्य–मान्यताको सम्मान गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा उनले नेपाली कांग्रेसभित्र आर्थिक तथा नीतिगत बहसलाई संस्थागत बनाउने उद्देश्यसहित ‘बीपी साहित्य सम्मेलन’ र ‘सुवर्ण शमशेर इकोनोमिक कन्क्लेभ’ जस्ता श्रृङ्खलाबद्ध कार्यक्रम सञ्चालन गरिने जानकारी समेत दिए।
































