रुकुम पूर्वमा ६७ वर्षीया वृद्धाको हत्या आरोपमा युवक पक्राउ

299
shares

रुकुम पूर्व । भूमे गाउँपालिका–१ गरबाङकी ६७ वर्षीया कृष्णा घर्तीको हत्या आरोपमा प्रहरीले ३१ वर्षीय अर्जुन घर्ती मगरलाई पक्राउ गरेको छ । भूमे–१ लुगुमका अर्जुनलाई कास्की प्रहरीको सहयोगमा पोखरा महानगरपालिका–८ बाट भदौ १९ गते पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी खुमानन्द पाण्डेले जानकारी दिए ।

प्रहरीका अनुसार भदौ १५ गते साँझ मदिरा सेवन गर्ने बहाना बनाएर अर्जुन कृष्णाको घरमा पुगेका थिए । एक्लै बस्दै आएकी कृष्णाको कानमा लगाएको सुनको मुन्द्रा देखेपछि लुट्ने उद्देश्यले पटुकाले घाँटी कसेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

हत्यापछि उनले कृष्णाको कानबाट मुन्द्रा निकाल्नुका साथै घरमा रहेको करिब ५ हजार रुपैयाँसमेत लिएर भागेको प्रहरीले जनाएको छ । हत्या गरेपछि उनी आफ्नै घरमा समेत परिवारका सदस्यलाई थाहा नदिई माथिल्लो तलामा लुकेर बसेका थिए ।

कृष्णाका छोराबुहारीले भदौ १८ गते घरभित्र उनलाई मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलको अवस्था र शवको प्रकृतिका आधारमा हत्या भएको निष्कर्ष निकाल्दै प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा अर्जुन गाउँमा नदेखिएको र यसअघि किशोर अवस्थामा चोरीमा संलग्न भएको तथ्यसमेत खुलेको प्रहरीले जनाएको छ । प्राविधिक अनुसन्धानबाट उनको लोकेसन कास्कीमा देखिएपछि प्रहरीले पोखराबाट पक्राउ गरेको हो ।

प्रहरी निरीक्षक लालबहादुर बिकका अनुसार अर्जुनको साथबाट कृष्णाको कानबाट लुटिएका दुई वटा सुनका मुन्द्रा बरामद भएको छ । चोरी गरेको रकममध्ये केही खर्च गरिसकेको पाइएको छ ।

प्रहरीसमक्ष अर्जुनले सुनको लोभमा कृष्णाको हत्या गरेको स्वीकार गरेको बताइएको छ । उनलाई आइतबार म्याद थपका लागि अदालतमा उपस्थित गराउने तयारी छ ।


divya collage
unigloble collage