‘जालझेल गरेर जेलेन्स्कीहरू तयार पारिँदैछन्’: प्रचण्ड

962
shares

१९ माघ, काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचारधारा र सिद्धान्तविहीन रूपमा सामाजिक सञ्जालमा स्टन्ट गरेर राजनीति गर्ने प्रवृत्तिले देशलाई बर्बादीतर्फ लैजाने चेतावनी दिएका छन्।

चुनावका लागि उम्मेदवारी दर्तापछि जिल्ला भ्रमण सकेर काठमाडौं फर्किएका दाहालले हाल देखिएको राजनीतिक प्रवृत्तिप्रति गम्भीर आपत्ति जनाएका हुन्। उनले नयाँ भनिएका केही राजनीतिक शक्तिहरू व्यक्ति–केन्द्रित र लोकप्रियतावादी अभियानमा केन्द्रित हुँदै जनताको चेतनामै भ्रम सिर्जना गरिरहेको आरोप लगाए।

‘बिना विचारधारा, बिना सिद्धान्त, बिना मान्यता सामाजिक सञ्जालमा स्टन्ट गरेको भरमा जनताको दिमाग खराब गर्ने प्रवृत्ति कुनै पनि देशभक्त नेपालीको हुन सक्दैन,’ दाहालले भने, ‘यो राष्ट्र र जनताप्रति माया गर्नेहरूको राजनीति होइन।’

विश्वव्यापी रूपमा लोकप्रियतावादको हावाहुरी चलेको उल्लेख गर्दै उनले त्यसको असर नेपालमा पनि देखिन थालेको बताए। ठूला पुँजीपतिहरूले आफ्नो स्वार्थ पूर्ति गर्न यस्ता ‘भुइँफुट्टा’ प्रवृत्तिलाई अघि सार्ने गरेको उनको टिप्पणी छ।

‘नवउदारवादी प्रणालीभित्र रहेका ठूला पुँजीपतिहरूले विश्वभर आफ्नो सत्ता सुदृढ गर्न यस्ता पपुलिस्ट पात्रहरू उत्पादन गरिरहेका छन्,’ दाहालले भने, ‘आज नयाँ भनिएका ती शक्तिहरू वास्तवमा सबैभन्दा पुराना हुन्, साम्राज्यवादका रणनीतिक औजार हुन्।’

उनले आफूहरूले अझै पनि गणतन्त्र, संघीयता, पहिचान र समावेशी समानुपातिक मूल्य–मान्यताकै पक्षमा दृढ रहेको स्पष्ट पारे।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लक्षित टिप्पणी हो कि भन्ने प्रश्नमा दाहालले नाम नलिए पनि प्रवृत्तिप्रति संकेत गर्दै भने, ‘संकटमा परेको विश्व पुँजीवादले यस्ता मानिस खोजिरहेको छ, जो उसको इशारामा जे पनि गर्न तयार होस्—जलाउन, मार्न, मर्न पनि।’

विश्व साम्राज्यवादले कमजोर राष्ट्रहरूमाथि हैकम जमाउन अनेक जालझेल प्रयोग गरिरहेको र नेपालमा पनि त्यसको बाछिटा पर्न सक्ने उनले बताए। ‘जालझेल गरेर जेलेन्स्कीहरू तयार पार्ने प्रवृत्ति बढ्दो छ,’ दाहालको दाबी छ।

इतिहास, त्याग, बलिदान र संघर्षबाट स्थापित मूल्यहरूलाई लोकप्रियतावादको नाममा बदनाम गर्न खोजिएको भन्दै उनले आम नेपालीलाई सचेत हुन आग्रह गरे। ‘पुराना पार्टी र नेताहरू केही होइनन् भन्ने सोचले आफ्नै आमाबुबालाई रुवाउने सन्तानले देश बनाउँछ भन्ने भ्रम फैलाउनु दुर्भाग्यपूर्ण हो,’ उनले भने।