बालेनलाई निर्वाचन आयोगको दोस्रो स्पष्टीकरण
वि.सं.२०८२ माघ १९ सोमवार १९:२६
shares

काठमाडौँ। निर्वाचन आयोगले रास्वपा झापा निर्वाचन क्षेत्र नं। ५ का उम्मेदवार बालेन्द्र शाह ‘बालेन’लाई दोस्रो पटक स्पष्टीकरण सोधेको छ।
आयोगका अनुसार शाहको निर्वाचन प्रचार–प्रसारसँग सम्बन्धित श्रव्यदृश्य सामग्री प्राप्त भएपछि दोस्रो पटक स्पष्टीकरण माग गरिएको हो। उक्त सामग्रीमा सादा पोसाकका प्रहरी बालेनका पक्षमा भोट माग्दै गरेको देखिएको भन्दै आयोगमा उजुरी परेको छ।
सोमबार जारी विज्ञप्तिमा आयोगले निर्वाचन प्रचारका क्रममा बालेनकी श्रीमतीसँग सादा पोसाकका प्रहरी खटिएको विषयमा समेत गम्भीर चासो व्यक्त गरेको छ। यस विषयमा के कस्तो अवस्था भएको हो भन्नेबारे स्पष्ट विवरणसहित तीन दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको छ।
निर्वाचन आचारसंहिता, २०८२ विपरीत हुने गतिविधिमा उम्मेदवार स्वयं वा उनका तर्फबाट संलग्न व्यक्ति रहेको पुष्टि भएमा प्रचलित निर्वाचन कानुनअनुसार कारबाही गरिने आयोगले चेतावनी दिएको छ।
यसअघि पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको फेसबुक पोस्टमा गरिएको टिप्पणीको विषयलाई लिएर निर्वाचन आयोगले बालेनसँग स्पष्टीकरण मागिसकेको थियो।















