आजको पत्रपत्रिका : बेरोजगारको नाममा ठूला व्यापारीलाई ५० करोडसम्म
वि.सं.२०७५ कात्तिक २९ बिहीवार ०७:३२
shares

बेरोजगारको नाममा ठूला व्यापारीलाई ५० करोडसम्म
काठमाडौं । विपन्न तथा बेरोजगार युवालाई स्वरोजगार बनाउन भन्दै ‘युवा स्वरोजगार कोष’ मार्फत सरकारले गरेको अर्बौँ लगानी उपलब्धिविहीन भएको छ। ०६५ देखि ०७४ सम्म कोषको नाममा सात अर्ब २७ करोड रुपैयाँ खर्च भए पनि लक्षित समुदायले लाभ लिन सकेका छैनन्।
यो रकम बेरोजगारलाई स्वरोजगार बनाउन होइन, पहिल्यै रोजगार भएका तथा व्यापार चम्काएकाहरूको व्यापार विस्तार गर्न खर्च भएको छ। राष्ट्रिय सतर्कता केन्द्रले समेत कोषको रकममा व्यापक दुरुपयोग भएको जनाएको छ। अनुगमनपछि केन्द्रले तयार पारेको प्रतिवेदनमा तालिमको नाममा समेत भ्रष्टाचार भएको उल्लेख छ।
महिलासँगको यस्तो संवादले मन्त्री सोडारी बर्खास्त
धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ सोडारीलाई केही महिनाअघि एक महिलासँग ‘अश्लील संवाद’ गरेका कारण बर्खास्त गरिएको खुलेको छ । सोडारीले ती महिलासँग अश्लील संवाद गरेको अडियो रेकर्ड बालुवाटार पुगेपछि उनलाई बर्खास्त गर्ने निर्णय भएको स्रोतले जनाएको छ ।
ती महिला स्वयंले प्रधानमन्त्रीलगायत नेकपा नेताहरूसमक्ष उक्त संवादको ‘क्लिप’ पठाएकी थिइन् । ‘अश्लील संवादका साथै केही तस्बिर पनि बालुवाटार पुर्याइएको छ,’ स्रोतले भन्यो ।
मन्त्रीबाट बर्खास्त गरिएसँगै सोडारीलाई मंगलबार बसेको नेकपाको सुदूरपश्चिम प्रदेश पदाधिकारी बैठकले पार्टी सदस्यबाटै निष्कासन गरेको छ ।
प्रदेश अध्यक्ष कर्ण थापाले पदीय आचरणविपरीत व्यवहार गरेकाले कारबाही गरेको बताएका छन् । ‘अनिश्चित समयका लागि पार्टी सदस्यताबाट निष्कासन गरिएको छ,’ थापाले भने । बैठकमा इञ्चार्ज भीम रावल, प्रदेश अध्यक्ष थापालगायत सबै पदाधिकारी उपस्थित थिए ।
सबै मोबाइल सेवाको गुणस्तर मापदण्डभन्दा ‘कमजोर
काठमाडौँ । मुलुकका सबै मोबाइल कम्पनीले दिँदै आएको सेवा गुणस्तर मापदण्डभन्दा कमजोर पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले गरेको परीक्षण क्रममा नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमको सेवा गुणस्तर तोकिएको मापदण्डभन्दा कमजोर पाइएको हो ।
दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय प्राधिकरणले असोज ११ देखि २५ सम्म राजधानीका चक्रपथभित्र विभिन्न स्थानमा परीक्षण गरेको हो । प्राधिकरणद्वारा सार्वजनिक प्रतिवेदनअनुसार मोबाइल सेवामा एनसेल र स्मार्ट टेलिकमभन्दा नेपाल टेलिकम अघि देखिएको छ । इन्टरनेट सेवामा एनसेलको गुणस्तर अन्य सेवा प्रदायकभन्दा राम्रो देखिएको छ ।














