आजको पत्रपत्रिका : निर्मला पन्तका बुबालाई जहाजले चढाउन मानेन
वि.सं.२०७५ मंसिर ९ आइतवार ०७:३२
shares

निर्मला पन्तका बुबालाई जहाजले चढाउन मानेन
कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बुबा यज्ञराजलाई उयपचारका लागि काठमाडौं लान खोज्दा जहाजले चढाउन नमानेपछि उनी कैलालीको गेटा विमानस्थलमै अलपत्र परेका छन् ।
छोरीको बलात्कार र हत्या गर्नेलाई सार्वजनिक र कारबाही गर्नुपर्ने माग राखेर दुई सातादेखि जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बसेका उनी केही दिनयता बिरामी थिए ।
उनलाई शनिबार साँझ बुद्ध एयरको विमानबाट काठमाडौं लैजाने तयारी थियो । असामान्य व्यवहार देखिएको भन्दै एयरलाइन्सले जहाज चढाउन नमानेपछि गेटा विमानस्थलमै उनी अलपत्र परेका हुन् ।
प्रधानमन्त्रीबाटै मन्त्रिपरिषदको निर्णय उलंघन
काठमाडौं । प्रधानमनत्री केपी ओलीको लिखित निर्देशनमा भित्रुवन विश्वविद्यालयले निजी शिक्षण संस्थालाई फाइदा पुग्न गरी १ सय १६ कलेजलाई सम्बन्धन दिएको छ । ओलीले आफ्नै मन्त्रिपरिषदको निर्णय विपरित त्रिविलाई पत्र काटेर सम्बन्धन दिलाएको छ ।
मन्त्रिपरिषद् बैठकले साउन दोस्रो साता निजी क्याम्पसलाई दिने सम्बन्धन स्थगित गर्ने निर्णय गरेको थियो । तर, साउन २२ मा कुलपतिसमेत रहेका प्रधानमन्त्रीले ओलीले त्रिविलाई पत्र पठाएको खुलासा भएको हो ।
थ्रेसरमा परेर ६ वर्षीया बालिकाको मृत्यु
लमही । दाङमा धान दाउने क्रममा थ्रेसरमा परी एक बालिकाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका–१६ मज्गैका शोमराज चौधरीका ६ वर्षीया छोरी बिपनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रेमबहादुर शाहीका अनुसार आफ्नै खेतको धान दाउने क्रममा मेशिनमा परेर गम्भीर घाइते बिपनाको उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। थे्रसर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।











