उपत्यकाका सांसदहरु आक्रोशित, भन्छन्- ‘प्रधानमन्त्री र मन्त्रीले कुरै सुनेनन्’
वि.सं.२०७७ भदौ ११ बिहीवार ०९:२३
shares

काठमाडौं : काठमाडौंबाट प्रतिनिधिसभातर्फ निर्वाचित सांसदहरूले कोरोना संक्रमणका सन्दर्भमा सरकारलाई पटक पटक दिइएको सुझाव सुनुवाइ नभएको भन्दै आक्रोश पोखेका छन् ।
काठमाडौंबाट प्रतिनिधिसभातर्फ प्रत्यक्ष र समानुपातिकतर्फबाट सांसद बनेका सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी र प्रतिपक्षी दल नेपाली कांग्रेसका १० सांसदले कोरोना महामारी नियन्त्रणका पक्षमा सरकारलाई पटक पटक सुझाव दिइए पनि सरकारले नसुनेको भन्दै आक्रोश पोखेका हुन् ।
कांग्रेस सांसद गगनकुमार थापाले सरकारले संक्रमणको गति तव्रि रूपमा बढ्दै जाँदा समेत न्यूनीकरण र रोकथामको तयारीलाई तीव्रता दिन नसकेको र पटक पटक दिइएको सुझावलाई समेत बेवास्ता गरेको बताए । ‘संक्रमणको गति जुन रूपबाट तीव्र गतिमा अघि बढिरहेको छ, त्यो गतिमा सरकार पक्षको तयारी अघि बढेको देखिएको छैन, संक्रमित बढ्दै जाँदा सरकार झनै सुस्ताएको जस्तो देखिँदै छ,’ सांसद थापाले भने ।
उनले काठमाडौंमा कोरोनाबाट संक्रमित भएकाहरूका लागि राख्न तत्कालै १० हजार आइसोलेसन बेड तयार गर्नुपर्ने, संक्रमितहरूलाई छुट्टै राखिनुपर्ने, संक्रमितको सम्पर्कमा रहेकाहरूको ट्रेसिङ तत्काल गरिनुपर्नेलगायतका सुझाव सरकारलाई पटक पटक दिइएको भए पनि सुनुवाइ खासै नभएको बताए ।
नेकपा सांसद शशि श्रेष्ठले कोरोना महामारी नियन्त्रणतर्फ केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच ठीकसँग संयोजन नभएको बताइन् । ‘यो महामरीका बेला केन्द्र, प्रदेश र स्थानीय सरकारबीच जुन संयोजन आवश्यक थियो, त्यो देखिएन, महामारीमा सरकारलाई जिम्मेवार बनाउन अब संयुक्त दलीय संयन्त्र बनाउन दबाब दिनुपर्छ,’ सांसद श्रेष्ठले भनिन् ।
कांग्रेस सांसद भीमसेनदास प्रधानले संक्रमितको संख्या बढ्दै गएको वर्तमान अवस्थामा निर्वाचन क्षेत्र विकास कोषको रकमबाट प्रत्येक निर्वाचन क्षेत्रमा आइसोलेसन वार्ड बनाइनुपर्ने बताए । ‘निर्वाचन क्षेत्र विकास कोषको रकमबाट प्रत्येक निर्वाचन क्षेत्रमा आइसोलेसन वार्ड बनाउनेतर्फ सरकारको ध्यान जाओस्, सम्बन्धित क्षेत्रको सांसद त्यसको इनिसियसन लिन तयार रहौं,’ प्रधानले भने ।
नेकपा सांसद राजेन्द्रप्रसाद श्रेष्ठले महामारीको वर्तमान समयमा केन्द्र सरकारका मन्त्री र प्रधानमन्त्रीले सांसदको कुरा नसुनेको र प्रदेश सरकारलाई समेत केन्द्र सरकारले जिम्मेवारीविहीन अवस्थामा राखेको बताए । उनले तीनै तहको बीचमा जिम्मेवारी बाँडफाँट गरेर मात्रै वर्तमान चुनौतीको सामना गर्न सकिने बताए ।
‘महामारीको वर्तमान समयमा केन्द्र सरकारका मन्त्री र प्रधानमन्त्रीले सांसदको कुरा सुनेनन् र सुन्नेतर्फ ध्यान नै दिएनन्, प्रदेश सरकारलाई समेत केन्द्र सरकारले जिम्मेवारीविहीन अवस्थामा राख्यो,’ सांसद श्रेष्ठले भने ।
कांग्रेस सांसद दिव्यमणि राजभण्डारीले सरकारले कोरोना महामारीका सन्दर्भमा आफ्नै दलका नेता, आफ्नै दलबाट निर्वाचित जनप्रतिनिधि र आफ्नै दलबाट प्रतिनिधित्व गर्ने संसदीय समितिको सभापतिको समेत कुरा नसुनेको बताए । आजको राजधानी दैनिकमा समाचार छ ।

























