दोधारमा ओलीः पहिले चीन जाने कि मोदीलाई काठमाडौंमा स्वागत गर्ने ?

8.28K
shares

आज आइतबार, राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले सदाझै विविध विषयहरुलाई समेटेका छन् । पत्रपत्रिकाहरुले सबैखाले सामग्रीलाई पत्रिकामा स्थान दिएका भए पनि पहिलो पृष्ठमा भने राजनीतिक विषयले नै बढी महत्त्व पाएको छ ।

राजनीतिक विषयमा एमाले–माओवादी एकता प्रक्रिया सबैजसो दैनिक पत्रिकाको आँखामा परेको छ । पत्रपत्रिकाहरुले विभिन्न शीर्षकमा जारी प्रक्रियाबारे खबर लेखेका छन् । केहीले दुई पार्टीका अध्यक्षले आज एकता सन्देश दिने सारको समाचार छापेका छन् भने केहीले अल्झन आएको दाबी गरेका छन् ।

रेलमार्ग अनुदानमा बनाइदिन नेपालले चीनसँग गरेको आग्रहलाई पनि आजका पत्रपत्रिकाहरुले नछुटाइकन लेखेका छन् । चीन भ्रमणबाट शनिबार फर्किएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीन–नेपाल सीमापार रेल निर्माण अनुदानमा गरिदिन चीनसमक्ष प्रस्ताव गरेका हुन् । केरुङबाट काठमाडौंसम्म रेल ल्याउन तीन खर्ब रुपैयाँभन्दा बढी लाग्ने प्रारम्भिक अनुमान छ ।

नयाँ पत्रिका दैनिकले यातायातमा २० वर्षको विकासलाई केलाएको छ । समाचार अनुसार यो अवधिमा सडक ५६ र गाडी २० गुणाले वृद्धि भएको छ । २० वर्षअघि एक किलोमिटर सडकमा १८ गाडी गुड्ने गरेकोमा अहिले ४१ गुडिरहेका छन् ।

यसका अतिरिक्त मोदी नेपाल भ्रमणमा आउन लागेको, ठेकेदारले मेलम्ची खानेपानी आयोजना निर्माण रोकेको लगायत खबरले पनि उत्तिकै महत्त्व र स्थान पाएका छन् ।

दोधारमा ओलीः पहिले चीन जाने कि मोदीलाई काठमाडौंमा स्वागत गर्ने ?

प्रधानमन्त्री केपी शर्मा ओली

भारतको तीनदिने राजकीय भ्रमणलगत्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई बेइजिङ पठाएका प्रधानमन्त्री केपी शर्मा ओली पहिला चीन भ्रमण गर्ने कि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौंमा स्वागत गर्ने दोधारमा छन् ।

कान्तिपुर दैनिक लेख्छ– ज्ञवालीको भ्रमणका क्रममा चीनले ओलीलाई स्वागत गर्न आतुर रहेको सन्देश दिएको छ भने कूटनीतिज्ञहरुले भारतीय समकक्षीलाई चीन भ्रमणअगावै काठमाडौंमा स्वागत गर्न सुझाएका छन् । यसले प्रधानमन्त्रीलाई निर्णय लिन थप कठिन बनाएको छ ।

स्रोतको हवाला दिँदै कान्तिपुर अगाडि लेख्छ– मोदी काठमाडौं ओर्लनुअघि नै प्रधानमन्त्री बेइजिङ पुगेर फर्कनेबारे आन्तरिक छलफल चलिरहे पनि निर्णय हुन बाँकी छ । भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण वैशाख अन्तिम वा जेठ पहिलो साता नै हुनसक्ने परराष्ट्रका अधिकारी बताउँछन् । भारतीयले उक्त चाहना कूटनीतिक माध्यमबाट व्यक्त गरिसकेको भए पनि त्यसको निर्णय भएको छैन ।

प्रधानमन्त्री भएपछि पहिला दिल्ली जाने परम्परालाई निरन्तरता दिएका ओलीलाई चीन भ्रमण तत्काल गर्न एक प्रकारको दबाव छ । परराष्ट्र मन्त्रालयमा प्रधानमन्त्रीको उत्तर यात्राबारे लगातार छलफल भइरहे पनि कुन पहिला भन्ने टुंगो लाग्न सकेको छैन ।

माओवादीका यी नेताले पाए अख्तियारबाट ‘क्लिन चिट’

पूवस्वास्थ्यमन्त्री एवं बहालवाला शिक्षामन्त्री गिरिराजमणि पोखरेल, पूर्वऊर्जामन्त्री जनार्दन शर्मा र सरकारका पूर्वसचिव शान्तबहादुर श्रेष्ठसहित ५० जनालाई भ्रष्टाचार र अकुत सम्पत्तिको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सफाइ दिएको छ ।

अन्नपूर्ण पोस्ट दैनिकका अनुासर सफाइ पाउनेमा पूर्वएआईजी, महानिर्देशक, विश्वविद्यालयका उपकुलपतिसमेत छन् ।

पूर्वस्वास्थ्यमन्त्री पोखरेलमाथि त्रिभुवन विश्वविद्यालयले एमबीबीएस भर्नाका लागि लिएको प्रवेश परीक्षामा भएको अनियमिततामा संलग्न भएको आरोप लगाइएको थियो । पोखरेलको संलग्नतामा प्रश्नपत्र गोपनीयता भंग भएको भन्दै छानबिन गर्न माग गरिएको थियो । तर उनलाई अख्तियारले क्लिन चिट दिएको छ ।

यस्तै बूढीगण्डकी जलविद्युत्त आयोजनाको विस्तृत अध्ययनका लागि प्रस्ताव पेश गरेका २४ ठेकेदार कम्पनीमध्ये मूल्यांकन समितिको अन्तिम सिफारिसमा परेका ६ कम्पनीबाट बिनाआधार स्वेच्छाचारी रुपमा शर्मा नेतृत्वको ऊर्जा मन्त्रालय र विद्युत्त प्राधिकरण समतिले तीनवटालाई अयोग्य घोषित गरिएको भन्दै अख्तियारमा मुद्दा परेको थियो ।

ठेकेदारले रोके मेलम्ची, दशैंको लक्ष्य अनिश्चित

सरकारले काठमाडौंमा मेलम्चीको खानेपानी आगामी दशैंंसम्म ल्याउने दाबी गरे पनि काममा भएको ढिलासुस्तीका कारण समयसीमाभित्र उपत्यकावासीको अपेक्षा पूरा नहुने भएको छ । मेलम्चीको सुरुङ खन्ने काम सकिए पनि अहिले आयोजनाको काम पूर्णरूपमा रोकिएको अन्नपूर्णमा खबर छ ।

मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजन इन्जिनियर राजेन्द्रप्रसाद पन्तले ठेकेदारले काम रोकेको जानकारी दिए । उनले भने, ‘हामीले दिनुपर्ने भुक्तानी दिइसकेका छौं । तर, काम रोकिएको छ । काम कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल जारी छ ।’

आयोजनाको सुरुङ खन्ने काम सकिए पनि ‘फिनिसिङ’ हुन सकेको छैन । अहिलेसम्म ३।६ किलोमिटर मात्र सुरुङ फिनिसिङ’ भएको छ । सुरुङलाई पूर्ण रुपमा ढलान गरेपछि मात्र यसमा पानी पठाउन सकिन्छ ।

इटालियन ठेकेदार कम्पनी कोअपरेटिभ मुरातोरी एन्ड केमेन्टेस्टी ९सीएमसी०ले पैसा अभाव भएपछि एक अर्ब ६५ करोड भेरियसन दाबी गर्दै आएको अन्नपूर्णको समाचारमा उल्लेख छ । चिनियाँ कम्पनीले काम छाडेपछि सरकारले सीएमसीसँग २०१४ मा तयारी सुरुङ निर्माण र हेडवक्र्सको कामका लागि सम्झौता गरेको थियो । सात अर्ब ७१ करोड रुपैयाँमा काम सक्ने गरी भएको सम्झौताअनुसार अहिलेसम्म सुरुङ खन्ने काम मात्र सकिएको छ । अहिलेसम्म हेडवक्र्स ९इन्टेक० का लागि माटो काट्ने काम मात्र भएको छ भने सुरुङ फिनिसिङको काम भएको छैन ।

आयोजनाका सिनियर डिभिजन इन्जिनियर पन्तले सुरुङ निर्माणको काम नसक्दासम्म पानी फर्काउन नसकिने बताए ।
अनलाइनखबर बाट


divya collage
unigloble collage