६९औं राष्ट्रिय प्रजातन्त्र दिवसका झलक (१५ तस्विरमा हेर्नुहोस्)
वि.सं.२०७५ फागुन ७ मंगलवार १३:२०
shares

काठमाडौं। राजधानीस्थित सैनिक मञ्च टुँडिखेलमा ६९औं राष्ट्रिय प्रजातन्त्र दिवस भव्य रुपमा मनाइएको छ। प्रजातन्त्र दिवस मूल समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक भएकी थिइन्।
नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट निरङ्कुश राणा शासनको अन्त्य र प्रजातन्त्रको थालनी भएको स्मरणमा हरेक वर्ष फागुन ७ गतेका दिन राष्ट्रिय प्रजातन्त्र दिवसको रूपमा मनाउने गरिन्छ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र दिवस २०७५ मूल समारोह समितिका अध्यक्ष केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित भएका थिए।
सो अवसरमा उपप्रधानमन्त्री, मन्त्रिगण, संवैधानिक नियोगका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकृत एवं कूटनीतिक नियोगका प्रमुखको उपस्थिति थियो।
सो अवसरमा नेपाली सेनाको हेलिकोप्टरबाट ६९औँ राष्ट्रिय प्रजातन्त्र दिवस २०७५ अङ्कित ब्यानर प्रदर्शन, पुष्पवृष्टि गरिएको थियो। समारोहमा बेलुन र परेवासमेत उडाइएको थियो।
त्यस अवसरमा ज्ञात–अज्ञात शहीदहरूप्रति उच्च सम्मान र श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिका लागि एक मिनेट मौन धारण गरिएको थियो। समारोहमा राष्ट्रिय गान प्रस्तुत गरिनुका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्काउटलगायतका सङ्घ संस्थाबाट मार्चपास गरिएको थियो।
समारोहमा काठमाडौँ र ललितपुर महानगरपालिका, भक्तपुर, मध्यपुर, थिमि, कीर्तिपुरद्वारा आ–आफ्नो क्षेत्रका विविध सांस्कृतिक झलकसहितका झाँकी प्रस्तुत गरिएको थियो।
कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलद्वारा राष्ट्रिय गीतका धुनहरुसहितको साङ्गीतिक धुन प्रस्तुत गरिएको थियो। उक्त समारोहको नेपाल टेलिभिजन र रेडियो नेपाललगायत विभिन्न विद्युतीय सञ्चार माध्यमले प्रत्यक्ष प्रसारण गरेका थिए।

















