बालिका बलात्कार प्रकरणमा अभियुक्तको बयान : ‘पोल खुल्ने डरले मारेर जलाइदिएँ’

6.54K
shares

काठमाडौं । धनुषा जनकपुरकी ११ वर्षीया बालिका दुतिया रैसेलीको बलात्कारपछि जलाएर हत्या गर्ने कार्यमा संलग्न भएको आरोपमा एकजना पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा धनुषा बटेश्वर वडा नम्बर ४ बस्ने निरज जर्घामगर रहेका छन्।

प्रहरीका अनुसार पक्राउ परेका २२ वर्षीय मगरलाई म्याद थपका लागि जिल्ला अदालत धनुषा लैजाने तयारी भएको छ।
फागुन २ मा आधा शरीर जलेको अवस्थामा मृत भेटिएकी दुतियाको हत्या आरोपमा पक्राउ परेका युवाले प्रहरीसँगको बयानमा आफूले हत्या गरेको स्वीकार गरेका छन्। उनले बयानका क्रममा भनेका छन्, ‘‘नाचगानका बीचमा बिजुलीको लाइन काटिएपछि सबै मान्छे तितरबितर भए।

Image result for दुतिया रैसेलीको बलात्कार

त्यति बेलै मैले दुतियालाई नजिकैको किराना पसलबाट चाउचाउ र फ्रुटी किनेर दिई फकाएँ। त्यसपछि खोला नजिकैको उखु खेतमा लगेर बलात्कार गरें। पोल खुल्ने डरले घाँटी थिचेर हत्या गरें अनि उनले लगाएको लुगाकपडासँगै केही झारपात जम्मा गरेर आगो लगाइदिएँ ।’’ पक्राउ परेका युवाले आफू एक्लै घटना गराएको बताएको प्रहरी स्रोतले जानकारी दियो।

प्रदेश नम्बर २ का प्रहरी प्रमुख डिआईजी हरि पालले घटनाको अनुसन्धान जारी रहेको र अनुसन्धान सफलताउन्मुख रहेको बताए। ‘‘यो निकै विभत्स घटना हो। अपराधीलाई कानुनी दायरामा ल्याउन प्रहरी सक्रिय छ,’’ उनले भने।

पक्राउ परेका युवक विभिन्न आपराधिक गतिविधिमा समेत संलग्न रहेको बताइएको छ। उनका बुबा भारतमा रोजगारी गर्दै आएका छन्। उनी गाडीमा सहायक चालकको रुपमा समेत काम गर्दै आएका थिए।

११ वर्षीया बालिका दुतिया रैसेली फागुन १ गते गाउँमै बिहेभोज खान गएकी थिइन्। उनको शव भोलिपल्ट घरभन्दा केही पर मगरटोल नजिक झाडीमा आधा जलेको अवस्थामा फेला परेको थियो । प्रमाण नष्ट गर्नका लागि अभियुक्तले जलाएका थिए। प्रदेश-२ प्रहरीको विशेष टोली र धनुषा प्रहरीको टोली अनुसन्धानमा खटिएको छ।


divya collage
unigloble collage