नेविसंघको नेतृत्व महिलालाई दिन दबाब, नैतिक संकटमा ‘देउवा’
वि.सं.२०७५ फागुन ७ मंगलवार १३:०६
shares

काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)मा तदर्थ समितिको संयोजक कसलाई बनाउने भन्नेमा पार्टीभित्र तँछाडमछाड देखिएको छ।
११ औं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित नैनसिंह महरले २८ माघमा पदबाट राजीनामा दिएपछि तदर्थ समिति बनाउने काँग्रेसको निर्णय छ। तर, तदर्थ समितिको संयोजक कसलाई बनाउने भन्नेमा चाहिँ पार्टी नेताहरुबीच तँछाडमछाड सुरु भएको हो। फागुन २ मा बसेको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति शेरबहादुर देउवालाई सबै पक्षसँग आवश्यक छलफल गरेर तदर्थ समिति गठन गर्ने जिम्मा दिएको थियो।
विवादको चुरो
११ औं महाधिवेशन भएको २९ महिनासम्म पनि १२ औं महाधिवेशन गर्न नसकेपछि महरले २८ माघमा राजीनामा दिएका थिए। जवकी हरेक २ वर्षको अन्तरमा महाधिवेशन गर्नुपर्ने नेविसंघको विधानमा उल्लेख छ।
यसमाथि हालै नेविसंघको विधानमा ३२ वर्र्षे उम्मेरहद तोकिएको छ। विधानमा ३२ वर्षे हदबन्दी तोकिएपछि तदर्थसमितिमा पनि सोही उमेर हदबन्दी लगाइनु पर्ने आवाज उठेको छ। तर, तदर्थसमितिमा ३२ माथि वा मुनीका कसलाई नेतृत्व ल्याउने भन्नेमा पार्टी स्पष्ट छैन। यस अन्योलतालाई फागुन ९ गते बस्ने काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकले निकास दिने विश्वास लिइएको छ।
सिटौला समूहको रणनीति
कृष्णप्रसाद सिटौंला निकट नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले ३२ वर्ष उमेर हदबन्दीसहित संगठनको तदर्थ समिति गठनको माग गरेका छन्। सोमबार प्रदर्शनी मार्गस्थित वाल्मीकि क्याम्पसमा पत्रकार सम्मेलन गरेर ६ महिनाभित्रै १२ औं महाधिवेशन सम्पन्न गर्ने गरी ३२ वर्ष मुनीको तदर्थ समिति गठन गरिनुपर्ने काफ्लेले माग गरे।
पार्टी सभापति देउवा ३२ वर्ष उम्मेर हदबन्दीलाई लत्याएर अगाडि बढे आफूहरु समानान्तर समिति गठन गर्न बाध्य हुने उनले चेतावनी दिए। आइतबार पनि मध्य बानेश्वरस्थित एक ब्यांक्वेटमा काफ्लेसमूहले नेता गगन थापासँग छलफल गरेको थियो।
छलफलमा नेता थापाले आफू निकटका विद्यार्थीहरुलाई एकताबद्ध हुन आग्रह गरेका थिए। पार्टीभित्र आफ्नो समूहको अलग पहिचान स्थापित भइसकेको भन्दै उनले विद्यार्थी नेताहरुको एकताबाटै पार्टीभित्र प्रभाव स्थापित हुने बताएका थिए।
‘नेविसंघमा हाम्रो उपस्थितिले नै हामीलाई पार्टीभित्र तेस्रो धार बनाएको हो। अहिले नेविसंघमा हाम्रो अस्तित्व सिध्याउन खोजिएको छ। यसकाविरुद्ध संगठित भएर प्रतिवाद गर्नुपर्छ।’ थापाको भनाईलाई उदृत गर्दै नेविसंघ स्रोतले भन्यो। साथै नेता थापाले विद्यार्थी नेताहरुलाई आपसमा अस्वस्थ प्रतिस्पर्धा नगर्न र समूहको हितका लागि साझा धारणा बनाएर अघि बढ्न निर्देशनसमेत दिएको स्रातेत बताउँछ।
देउवालाई नैतिक संकट
साथै ३२ वर्ष उमेरहद लगाउने कि नलगाउने भन्नेमा पार्टीभित्रै विवाद छ। वरिष्ठ नेता रामचन्द्र पौडेलले पक्ष र देउवा पक्षका धेरैजसो नेता १२ औं महाधिवेशनबाट मात्रै विधान कार्यान्वयनमा आउने भएकाले अहिल्यै ३२ वर्षे उमेरहद लगाउन नहुने पक्षमा छन्।
वरिष्ठ नेता रामचन्द्र पौडेलले मनोजमणि आचार्यको संयोजकत्वमा समिति बनाउन जोड गरेका छन् भने उपसभापति विमलेन्द्र निधि निवर्तमान कार्यसमितिका महामन्त्री सरोज थापालाई संयोजक तोक्ने पक्षमा छन्।
यस्तै महामन्त्री पूर्णबहादुर खड्काले ११ औं महाधिवेशनमा अध्यक्षमा पराजित शुभराम बस्नेतलाई नेतृत्वमा ल्याउन देउवालाई सुझाइरहेका छन्। संस्थापनका केही नेताहरु भने तदर्थसमितिबाट ३२ वर्षे उम्मेरहद लगाउनु पर्ने पक्षमा छन्। जसमा संस्थापन पक्षकै बालकृष्ण खाँण, प्रकाश घिमिरे र सहमहामन्त्री प्रकाशरण महतले प्रेमराज जोशीलाई संयोजक बनाउन दबाब दिइरहेका छन्।
जसका कारण देउवाले नेविसंघमा तदर्थ समितिको संयोजक चयन गर्न नैतिक संकट झेल्नु परेको छ। जसमा पौडेलसँग बढ्दो दूरी कम गर्नेदेखि आफूना निकटस्थहरुलाई कसरी टिकाइराख्ने भन्ने दवावमा उनी छन्।
नेविसंघको नेतृत्व महिलालाई दिन माग
यसो त नेविसंघमा महिलालाई अवसर दिनुपर्ने आवाज पनि उठेको छ। नेविसंघको नेतृत्व महिलालाई दिन माग गर्दै विभिन्न क्याम्पसका नेतृहरूले पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिएका थिए। संघकी निवर्तमान सहमहामन्त्री अम्बिका चलाउनेको नेतृत्वमा विद्यार्थी नेतृहरुले शनिबार देउवालाई निवासमै भेटेर दबाब दिएका थिए। यस्तो दबाब दिनेहरु संस्थापनपक्षीय नै थिए। उनीहरूले ३२ वर्षे उमेरहद कार्यान्वयनमा ल्याउनसमेत माग गरेका छन्। देउवासँग उनीहरुले निवर्तमान सहमहामन्त्री चलाउनेलाई तदर्थ समितिको नेतृत्व दिन आग्रह गरेका थिए।
संघको नेतृत्वमा अहिलेसम्म महिला नआएको भन्दै इतिहास राख्ने अवसर दिनसमेत उनीहरूले जोड गरेका थिए। ‘कम्युनिष्टको विद्यार्थी संगठनमा महिलाले नेतृत्व गरेका छन्, हाम्रो किन नहुने ? सभापतिले आफूलाई फरक देखाउन पनि महिलालाई नेतृत्व दिनुपर्छ ’ उनीहरुको भनाइ थियो। देउवाले यस विषयमा अन्य नेताहरूसँग छलफल गर्ने बताएका थिए।
विगतको नेविसंघ
२०२७ सालमा स्थापना भएको नेविसंघको ४८ वर्षको इतिहासमा विपीन कोइरालादेखि नैनसिंह महरले जिम्मेवारी सम्हाले। यो बीचमा १८ जनाले नेविसंघ हाँक्ने मौका पाए। जसमा ६ निर्वाचित, ५ सर्वसम्मत र ७ तदर्थ समितिबाट नेतृत्वमा पुगे।
१८ अध्यक्षमध्ये एक मात्र अध्यक्षले मात्रै समयमै महाधिवेशन गरी नेतृत्व हस्तातरण गरे। नेविसंघको आठौँ महाधिवेशनबाट अध्यक्षमा चुनिएका हालका पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले ०५९ मा नवौँ महाधिवेशन गरेर गुरुराज घिमिरेलाई नेतृत्व हस्तान्तरण गरेका थिए। तर, अरू कुनै पनि अध्यक्षले विधानत आफ्नो कार्यकालमा महाधिवेशन गर्न असफल रहे।
विपिन कोइराला, शेरबहादुर देउवा, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाण, धनराज गुरुङ, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, किशोर राठौर, महेन्द्र शर्मा र रञ्जित कर्णले सर्वसम्मत तथा महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्न सफल भएका थिए। तर विमलेन्द्र निधि, एनपी साउद गुरु घिमिरे, प्रदीप पौडेल र नैनसिंह महर महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्न असफल रहे।
नेविसंघमा निर्वाचित कार्यसमितिले अधिवेशन गर्न नसकपछि तदर्थसमिति बनाउने प्रचलन विगतदेखि चल्दै आएको छ। सोही प्रचलन अनुसार ज्ञानेन्द्रबहादुर कार्की, धनराज गुरुङ, किशोरसिंह राठौर, केशव सिंह, महेन्द्र शर्मा र रञ्जित कर्ण नेविसंघको नेतृत्व सम्हाल्ने अवसर पाएका थिए।
अहिले पनि महर नेतृत्व असफल भएसँग तर्दथसमिति ल्याउन काँग्रेस नेताहरु लागि परेका छन्। अब नेविसंघको नेतृत्व कसले गर्ने भन्ने पार्टी सभापति देउवाको हातमा छ।















