सुगौली सन्धिको सक्कलप्रति खोजीबारे भारतको जवाफ: द्विपक्षीय संयन्त्रमार्फत छलफल गर्न सकिन्छ
वि.सं.२०८३ साउन २६ मंगलवार १९:४८
shares

काठमाडौं । सन् १८१६ मा नेपाल र तत्कालीन ब्रिटिस भारतबीच भएको सुगौली सन्धिको सक्कल प्रति कहाँ छ भन्ने विषयमा नेपालमा चर्चा भइरहदा भारतले यस विषयलाई द्विपक्षीय संयन्त्रमार्फत छलफल गर्न सकिने जनाएको छ।
मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवाललाई सञ्चारकर्मीले नेपालका विदेशमन्त्रीले सुगौली सन्धिको सक्कल प्रति फेला नपरेको बताएको विषयमा प्रश्न गरेका थिए।
जवाफमा प्रवक्ता जयसवालले नेपाल र भारतबीचको सम्बन्ध राम्रो रहेको उल्लेख गर्दै दुई देशबीच कतिपय विषयमा मतभिन्नता हुनसक्ने बताए। उनले यस्ता विषय समाधानका लागि दुई देशबीच स्थापित संयन्त्र रहेकाले त्यसैमार्फत छलफल गर्न सकिने धारणा राखे।
सुगौली सन्धि नेपाल र ब्रिटिस भारतबीचको युद्ध अन्त्य गर्ने क्रममा सन् १८१६ मा भएको थियो। उक्त सन्धिले नेपालको पश्चिम तथा दक्षिणतर्फको सीमासम्बन्धी महत्वपूर्ण आधार तय गरेको मानिन्छ।
सन्धिमा काली नदीको पूर्वतर्फको भूभाग नेपालअन्तर्गत रहने उल्लेख गरिएको छ। यही सन्धिसहित विभिन्न ऐतिहासिक प्रमाणका आधारमा नेपालले २०७७ सालमा लिम्पियाधुरासहितको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो।
यसअघि सोमबार बसेको प्रतिनिधिसभा बैठकमा पनि सुगौली सन्धिको सक्कल प्रति कसको संरक्षणमा छ भन्ने विषयमा सांसदहरूले चर्चा गरेका थिए। त्यसपछि भारतीय पक्षसँग समेत यसबारे प्रश्न उठाइएको हो।
यसैबीच भारतीय विदेश मन्त्रालयका प्रवक्ताले प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि भारतीय राजदूतबीच भएको भेटवार्ताबारे पनि जानकारी दिएका छन्।
उनका अनुसार भेटमा दुई देशबीचका विषयमा कुराकानी भएको थियो। प्रवक्ता जयसवालले प्रधानमन्त्री शाहले पदभार ग्रहण गरेलगत्तै भारतीय प्रधानमन्त्रीबाट नेपाल भ्रमणको निमन्त्रणा पठाइसकिएको जानकारी दिँदै थप विवरण प्राप्त भए सार्वजनिक गर्ने बताए।





















