कार्यान्वयनमै नआउँदै कांग्रेसको संशोधित विधानमाथि प्रश्न, स्वतः महाधिवेशन प्रतिनिधि बन्ने व्यवस्था फर्काउन माग
वि.सं.२०८३ साउन २७ बुधवार २१:०९
shares

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट संशोधन गरिएको विधान कार्यान्वयनमा आउनुअघि नै त्यसमा पुनः संशोधन गर्नुपर्ने आवाज उठेको छ। पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा केही केन्द्रीय सदस्यले आफूहरू स्वतः महाधिवेशन प्रतिनिधि बन्न पाउने पुरानो व्यवस्था पुनःस्थापित गर्न माग गरेका हुन्।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार केही केन्द्रीय सदस्यले केन्द्रीय पदाधिकारी तथा सदस्यलाई स्वतः महाधिवेशन प्रतिनिधि बन्न पाउने व्यवस्था पुनः कायम गर्नुपर्ने प्रस्ताव राखेका छन्। यस विषयमा निर्णय गर्ने वा नगर्ने अधिकार केन्द्रीय कार्यसमितिमै रहेको उनले बताए।
विशेष महाधिवेशनबाट संशोधन गरिएको विधानले यसअघि केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य स्वतः महाधिवेशन प्रतिनिधि बन्न पाउने व्यवस्था हटाएको थियो। नयाँ व्यवस्थाअनुसार केन्द्रीय सदस्यसमेत सम्बन्धित क्षेत्रबाट निर्वाचित भएर महाधिवेशन प्रतिनिधि बन्नुपर्ने प्रावधान राखिएको छ।
तल्लो तहबाट निर्वाचित भएर महाधिवेशनमा प्रतिनिधित्व गर्ने प्रणालीलाई प्राथमिकता दिँदै पुरानो व्यवस्था हटाइएको भए पनि १५औँ महाधिवेशन नजिकिँदै गर्दा त्यसलाई पुनःस्थापित गर्नुपर्ने माग उठेको हो।
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनको तयारीसहित विभिन्न विषय समेटिएका एजेन्डा प्रस्तुत गरेका छन्। बैठकमा महाधिवेशनको तयारी, नियमावली निर्माण, सदस्यता अद्यावधिक र सरकारको १०० दिनको समीक्षालगायत विषयमा छलफल भइरहेको छ। यी विषयमा धारणा राख्ने क्रममा धेरैजसो केन्द्रीय सदस्यले महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया र त्यससँग जोडिएको विधानको व्यवस्थाबारे चासो व्यक्त गरेका छन्।
प्रवक्ता चालिसेका अनुसार १५३ सदस्यीय केन्द्रीय कार्यसमितिमा मंगलबारसम्म ६२ जना सदस्यले आफ्नो धारणा राखिसकेका छन्। प्रत्येक सदस्यलाई बोल्नका लागि सात मिनेटको समय निर्धारण गरिएको छ।
बैठक महाधिवेशन तयारीमा केन्द्रित रहेकाले अझै केही दिन जारी रहने कांग्रेसले जनाएको छ। विधान संशोधनको मागमाथि भने केन्द्रीय कार्यसमितिमा छलफलपछि मात्रै आवश्यक निर्णय हुने बताइएको छ।


















