व्यवसायी शेखर गोल्छा १ करोड धरौटीमा रिहा हुदैँ

351
shares

काठमाडौं । व्यवसायी शेखर गोल्छालाई विशेष अदालतले १ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। हिमालयन रि–इन्स्योरेन्ससहित विभिन्न बीमा कम्पनीको रकम प्रयोग गरी सेयर कारोबारमा चलखेल गरेको आरोपमा दायर मुद्दामा अदालतले मंगलबार यस्तो आदेश दिएको हो।

अदालतले तत्काल १ करोड रुपैयाँ धरौटी बुझाएर गोल्छालाई रिहा गर्न आदेश दिएको छ। यद्यपि, थप प्रमाण वा तथ्यबाट आरोप पुष्टि हुने अवस्था देखिएमा कानुनअनुसार थप आदेश हुन सक्ने पनि अदालतले स्पष्ट पारेको छ।
हिमालयन रि–इन्स्योरेन्सका तत्कालीन अध्यक्ष रहेका गोल्छामाथि कम्पनीको रकम सेयर कारोबारमा प्रयोग गरी बजारमा अनुचित प्रभाव पार्न खोजेको र लाभ पुर्‍याएको आरोप लागेको छ। नेपाल धितोपत्र बोर्डको अनुसन्धान प्रतिवेदनमा समेत उनी कारोबारमा सहयोगी भूमिकामा रहेको उल्लेख गरिएको थियो।

यसअघि गत वैशाख १० गते केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गोल्छालाई धितोपत्रसम्बन्धी कसुरमा पक्राउ गरेको थियो। सर्वोच्च अदालतको आदेशपछि ५ लाख रुपैयाँ धरौटी बुझाएर उनी रिहा भएका थिए। त्यसलगत्तै बीमा कसुरसम्बन्धी अनुसन्धानका लागि उनलाई पुनः नियन्त्रणमा लिइएको थियो।

अनुसन्धानका क्रममा हिमालयन रि–इन्स्योरेन्सले भृकुटी स्टक ब्रोकिङलाई करिब पौने ३ अर्ब रुपैयाँ अग्रिम उपलब्ध गराएको र सो रकमबाट विभिन्न व्यक्तिको नाममा सेयर खरिद भएको विवरण सार्वजनिक भएको थियो।

सीआईबीले हिमालयन रि–इन्स्योरेन्ससहित पाँच बीमा कम्पनीको करिब ३ अर्ब ७३ करोड रुपैयाँ दुरुपयोग गरी व्यक्तिगत लाभका लागि सेयर कारोबार गरिएको निष्कर्ष निकालेको थियो। त्यसैका आधारमा गोल्छासहितका व्यक्तिविरुद्ध मुद्दा चलाउन सिफारिस गरिएको थियो।

सरकारी वकिलमार्फत दायर भएको मुद्दामा गोल्छाले भने आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन्। उनले कारोबारमा आफ्नो संलग्नता नरहेको र व्यक्तिगत लाभ नलिएको दाबी गरेका छन्। कम्पनीको रकम दुरुपयोग भएको जानकारी पाएपछि आफूले हिमालयन रि–इन्स्योरेन्सको अध्यक्ष पदबाट राजीनामा दिएको उनको बयान छ।


divya collage
unigloble collage