हिमपहिरोमा ज्यान गुमाएका निम्स दाइको शव ५,७०० मिटर उचाइबाट उद्धार

पाकिस्तानको काराकोरम हिमशृंखलास्थित ब्रोड पिक क्षेत्रमा हिमपहिरोमा परी ज्यान गुमाएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्स दाइ’ पुर्जाको शव उद्धार निकालिएको छ। प्रतिकूल मौसमका कारण केही दिन ढिलाइ भएको उद्धार अभियानपछि आइतबार उनको शव सुरक्षित रूपमा निकालिएको हो।
आरोहणका क्रममा बिहीबार हिमपहिरोमा परेर सम्पर्कविहीन भएका पुर्जा शनिबार मृत अवस्थामा फेला परेका थिए। उद्धार टोलीका अनुसार उनको शव करिब ५ हजार ७ सय मिटर उचाइमा भेटिएको थियो। शवलाई आधार शिविरतर्फ ल्याउने प्रक्रिया अघि बढाइएको छ।
उद्धार कार्यमा संलग्न टोलीले घटनास्थल अत्यन्त जोखिमपूर्ण रहेको जनाएको छ। लगातार खराब मौसम, हिमपहिरोको खतरा र ठाडो भू–भागका कारण शव निकाल्ने कार्य सहज नभएको बताइएको छ। मौसम प्रतिकूल हुँदा हेलिकप्टर प्रयोग गर्न नसकिएपछि नेपाल र पाकिस्तानका संयुक्त उद्धारकर्मीहरू स्थलमार्गबाट खटिएका थिए।
उद्धारका क्रममा निम्स दाइको शव नजिकै अन्य तीन जनाको शवसमेत भेटिएको जनाइएको छ। ती शवहरूको पहिचान गर्ने प्रक्रिया जारी रहेको बताइएको छ।
यसअघि हिमपहिरोमा परी ज्यान गुमाएका गोरखाका पुरबहादुर गुरुङ ‘युक्ता’सहित तीन जनाको शव शुक्रबार नै आधार शिविरमा ल्याइएको थियो। त्यसपछि बाँकी बेपत्ता आरोहीहरूको खोजीका लागि ड्रोन तथा हवाई निगरानीको प्रयोग गरिएको थियो।
दुर्घटनामा परेका टोलीमा नेपालका निर्मल पुर्जा, पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा, निमा शेर्पा र नवाङ थिन्डु शेर्पासहित ओमान, पाकिस्तान, चीन र अमेरिकाका पर्वतारोही सहभागी थिए। हिमपहिरोमा परेका सबै सदस्यको निधन भएको पुष्टि भइसकेको छ।
विश्व पर्वतारोहण क्षेत्रमा असाधारण कीर्तिमान बनाएका निम्स दाइको निधनले नेपाल मात्र नभई अन्तर्राष्ट्रिय आरोहण समुदायलाई गहिरो शोकमा डुबाएको छ।





















