पूर्वराष्ट्रपति भण्डारीको आह्वान : सामाजिक सद्भाव जोगाउँदै राष्ट्रिय एकता बलियो बनाऔँ
वि.सं.२०८३ साउन १७ आइतवार १९:२२
shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सुनसरीसहित पूर्वी तराईका विभिन्न जिल्लामा देखिएको साम्प्रदायिक तनावप्रति गम्भीर चासो व्यक्त गर्दै सबै नागरिकलाई संयमता अपनाई सामाजिक सद्भाव कायम राख्न आग्रह गरेकी छन्।
आइतबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित नेता तुल्सीलाल अमात्यको २९औँ स्मृति दिवस कार्यक्रममा बोल्दै भण्डारीले नेपालको विविधतायुक्त सामाजिक संरचना नै राष्ट्रिय शक्तिको आधार भएको उल्लेख गरिन्। उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले सम्पन्न नेपालमा आपसी सम्मान, सहिष्णुता र सहअस्तित्वलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिइन्।
उनले पछिल्ला घटनालाई लिएर समाजमा भ्रम, घृणा र विभाजन फैलाउने प्रयासप्रति सचेत रहन आग्रह गर्दै संवेदनशील परिस्थितिमा सबै पक्षले जिम्मेवार व्यवहार प्रदर्शन गर्नुपर्ने बताइन्। राष्ट्रिय एकता र कानुनी शासनलाई कमजोर बनाउने गतिविधिबाट टाढा रहन उनको आग्रह थियो।
भण्डारीले लोकतन्त्र स्थापना र राष्ट्रिय एकताको यात्रामा योगदान पुर्याएका नेताहरूको आदर्श र मूल्यलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता पनि औँल्याइन्। उनले तुल्सीलाल अमात्यलगायत अग्रज नेताहरूले देखाएको मार्ग पछ्याउँदै सामाजिक सद्भाव र लोकतान्त्रिक संस्कृतिलाई थप मजबुत बनाउनुपर्ने धारणा व्यक्त गरिन्।
उनले वर्तमान परिस्थितिमा राजनीतिक दल, नागरिक समाज र आम नागरिक सबैले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गरे मात्र राष्ट्रिय एकता र सामाजिक सद्भावलाई थप सुदृढ बनाउन सकिने विश्वास व्यक्त गरिन्।




















