डिजिटल अर्थतन्त्रमा निजी क्षेत्रको साथ अपरिहार्य : सभापति थापा

377
shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले डिजिटल अर्थतन्त्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच विश्वासमा आधारित सहकार्य आवश्यक रहेको बताएका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘डिजिटल इकोनोमीः स्थानीय रोजगारी र पहुँच विश्वबजार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले सरकारले सबै ज्ञान र क्षमता आफैंसँग मात्र छ भन्ने सोचबाट बाहिर निस्कनुपर्ने धारणा राखे।

उनले निजी क्षेत्रमा रहेका दक्ष जनशक्ति, अनुभव र नवप्रवर्तनलाई राज्यले सम्मान गर्दै नीति निर्माण र कार्यान्वयनमा प्रभावकारी साझेदारी गर्नुपर्ने बताए। सरकार र निजी क्षेत्रबीचको सहकार्यले मात्रै डिजिटल अर्थतन्त्रलाई दिगो र प्रतिस्पर्धी बनाउन सकिने उनको भनाइ थियो।

सभापति थापाले डिजिटल अर्थतन्त्रलाई नेपालको आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा अघि बढाउन सकिने उल्लेख गर्दै यसलाई कुनै एक दलको राजनीतिक एजेन्डा नभई राष्ट्रिय प्राथमिकताको विषय बनाउनुपर्नेमा जोड दिए।

उनले निजी क्षेत्रसँग आवश्यक क्षमता, अनुभव र बजारको बुझाइ रहेको उल्लेख गर्दै सरकारले विश्वासको वातावरण सिर्जना गरे डिजिटल क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्न सकिने बताए।

थापाले प्रविधिमा आधारित अर्थतन्त्रको विस्तारले स्वदेशमै रोजगारी सिर्जना गर्नुका साथै नेपाली प्रतिभालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने अवसरसमेत बढाउने विश्वास व्यक्त गरे।


divya collage
unigloble collage