वाइडबडी र ओम्नी काण्डको फाइल खोल्ने तयारीमा सरकार !

11.86K
shares

काठमाडौ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै सर्वसाधारणसँग रकम असुली गर्ने संगठित गिरोहका मानिस धमाधम पक्राउ परिरहेका बेला सरकारले थप ठूला भ्रष्टाचार मुद्दामा छानबिन थाल्ने तयारी गरेको छ ।

पछिल्ला दशकमा भएका बाइडबडी खरिद, बालुवाटार जग्गा प्रकरण, ओम्नी काण्डका नाममा चर्चित कोराना महामारीका समयमा औषधि खरिदमा भएको घोटाला प्रकरण, सार्वजनिक जमिन भाडामा दिँदा भएका अनियमितताबारे छानबिनको तयारी भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार एवं माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले सबैखाले भ्रष्टाचारका फाइल खोलिने बताए ।

यद्यपि नककली भुटानी शरणार्थीसम्बन्धी राज्यविरुद्धको अपराधसम्बन्धी विषयको छानबिन निस्कर्षमा पुगेपछि अरु विषयमा प्रवेश गरिने उनको भनाइ थियो । ‘अहिले नीति कार्यक्रम र बजेटको तयारीमा छौं । नक्कली भुटानी शरणार्थीबारेको अनुसन्धान सकिएर दोषीमाथि मुद्धा अघि बढेपछि अरु फाइल पनि खोलिनेछ’, उनले काठमाण्डुटुडेसँग भने । केही दिनयता राजधानीसहित देशका विभिन्न स्थानमा सरकारको समर्थनमा प्रदर्शन भइरहेका छन् । प्रदर्शनमा सहभागी नागरिकले भ्रष्टाचारका अरु फाइल पनि खोल्न सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

राजधानीमा शुक्रबार भएको एक कार्यक्रममा माओवादी युवा संगठन वाइसीएलका अध्यक्ष दलजित श्रीमाइलीले लडाकु शिविरको समेत छानबिन गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका थिए । ठूला भ्रष्टाचार काण्डमा मुछिएका पार्टी र तिनका नेताले पटकपटक शिविर घोटालाको विषय उठाएर आफूहरुको मानमर्दन गरेको भन्दै उनले सत्यतथ्य छानबिन गर्न आग्रह गरे ।

माओवादी केन्द्रका प्रभावशाली युवा नेता एवं बागमति प्रदेशसभा सदस्य युवराज चौलागाईंले जुनसुकै भ्रष्टाचार काण्डको छानबिन गर्न सरकार तयार रहेको बताए । तर, एमाले र अध्यक्ष केपी ओलीले अहिले जारी नक्कली भुटानी शरणार्थी प्रकरणलाई विषयान्तर गरेर त्यसमा मुछिएका आफ्ना नेता टोपबहादुर रायमाझीसहितलाई बचाउन निर्दोष फस्न नहुने र अरु भ्रष्टाचारमा पनि छानबिन हुनुपर्ने विषय उठान गरेको बताए ।

‘अरु पनि भ्रष्टाचारका फाइल खोलिन्छन् तर अहिले जे अगाडि बढेको छ पहिला त्यसलाई निस्कर्षमा पुर्याउने कुरा मुख्य हो । भ्रष्टाचारको छानबिन गर्न राज्य संयन्त्र र प्रहरीको तयारी चाहिन्छ’, चौलागाईंले भने, ‘आफ्ना नेता भ्रष्टाचार र राज्यद्रोहको अपराधमा मुछिएकाले उनीहरुलाई चोख्याउन केपी ओलीले अरु प्रकरणको कुरा गर्नु भएको सबैले बुझेकै कुरा छ ।’ चौलागाईंले भ्रष्टाचार मुलुकको मुल रोग भएको र भ्रष्टाचारीलाई कारबाही गरेपछि सरकारको नागरिकहरु स्वतः स्फुर्त रुपमा सडकमा आएको उल्लेख गरे ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहले संगठित ठगी मात्र नभई मुलुकविरुद्ध अपराध भएको उनको भनाइ थियो । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै सर्वसाधारणसँग रकम असुली गर्ने गिरोहसँग मिलोमतो गरेको आरोपमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित एक दर्जन व्यक्ति पक्राउ परिसेकका छन् ।

प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझी फरार छन् । अरु ८ जनामाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083