लागुऔषध गाँजासहित ७० वर्षीय वृद्ध पक्राउ
वि.सं.२०७५ मंसिर ९ आइतवार १७:२९
5.38K
shares
shares

लहान । लागुऔषध गाँजासहित प्रहरीले सिरहाको नरहा गाउँपालिकाबाट एक वृद्धलाई पक्राउ गरेको छ। लागुऔषध दुई किलो गाँजासहित नरहा गाउँपालिका–५ नरहा निवासी ७० वर्षीय सिताई यादव भन्ने सीताराम यादवलाई शनिबार पक्राउ गरिएको हो।
गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले यादवको घरमा तलासी गर्दा प्लास्टिकको झोलामा लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस्तै वन कर्मचारीको गस्ती टोलीले शनिबार साँझ सिरहाको लहान नगरपालिका–१५ स्थित ढोढनाबाट १७ थान सखुवाको चिरान काठ बरामद गरेको छ।
चुरे जङ्गलबाट तस्करी गरी लुकाई छिपाई राखेको सूचनाका आधारमा डिभिजनल वन कार्यालय लहानका सहायक वन अधिकृत अमरेन्द्रकुमार यादवको नेतृत्वमा खटिएको टोलीले १७ थान सखुवा चिरान काठ बरामद गरेको हो।




















