गोदामचौर सामूहिक बलात्कार प्रकरण : ललितपुर अदालतले छाडेका अभियुक्त ११ महिनापछि पक्राउ
वि.सं.२०७५ मंसिर २६ बुधवार १६:०९
shares

काठमाडौं । जिल्ला अदालत ललितपुरले साधारण तारेखमा रिहा गरेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले ललितपुरको गोदावरी–१ गोदामचौरका विशालध्वज कार्की, पवन कुँवरलाई पक्राउ गरेको हो । ललितपुरको गोदामचौरमा भएको सामूहिक बलात्कारको घटनाका अभियुक्तलाई ललितपुर जिल्ला अदालतका न्यायाधीश बालमुकुन्द दवाडीको एकल इजलासले २६ पुस २०७४ मा साधारण तारिखमा छाड्न आदेश दिएको थियो ।
अभियुक्तविरुद्ध पर्याप्त प्रमाण हुँदा हुँदै पनि न्यायाधीश दवाडीको इजलासले बलात्कार जस्तो घटनाका अभियुक्तलाई साधारण तारेखमा छाडेको भन्दै त्यतिबेला चर्को अलोचना भएको थियो । सामूहिक बलात्कारमा परेकी महिलाले गोदावरी–१ का जिल्ला अदालतको आदेशबाट रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । जिल्ला अदालत लतिलपुरले तीनै जनालाई साधारण तारेखमा रिहा गरेको थियो ।
पछि सरकारी वकिल कार्यालयले जिल्लाको आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन दर्ता गरेको थियो । उच्च अदालत ललितपुरले २५ माघ २०७५ मा तीनैजनालाई अभियुक्तलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश जारी गरेको थियो । जिल्ला अदालतले साधारण तारेखमा छाडेपछि तीनैजना फरार भएका थिए । फरार रहेकामध्ये २ जना विशालध्वज र पवलाई अपराध महाशाखाको टोलीले बुधवार पक्राउ गरेको हो । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले जानकारी दिए ।































