अपहरण गरी गाडीसहित कालीगण्डकीमा खसालेर युवतीको हत्या

4.6K
shares

काठमाडौं। बेनी नगरपालिका–९ काउलेगौँडाका ३१ वर्षीय इन्द्रबहादुर खड्का (रवि)ले अन्नपूर्ण गाउँपालिका–७ घराम्दीकी २० वर्षीया सविता नेपालीको अपहरण गरी गाडीसहित कालीगण्डकीमा खसालेर हत्या गरेको ठहर गर्दै अदालतले सर्वस्वसहित जन्मकैद र जरिवानाको फैसला गरेको हो । जिल्ला अदालतले कालीगण्डकीमा गाडी खसालेर एक युवतीको हत्या गर्ने एक व्यक्तिलाई ३० वर्ष कैद र रु एक लाख जरिवाना गर्ने फैसला गरेको छ ।

जिल्ला न्यायाधीश राजकुमार कोइरालाको इजलासले बुधबार निजलाई सर्वस्वसहित २० वर्षको कैद, अपहरण तथा शरीर बन्धक बनाएकामा आठ वर्ष र पीडा दिएकामा थप दुई वर्ष गरी ३० वर्ष कैद सजाय गर्ने फैसला सुनाएको श्रेष्तेदार खिलप्रसाद बुर्लाकोटीले जानकारी दिए । उनका अनुसार खड्कालाई रु एक लाख जरिवाना र अपहरण अवधिको दैनिक रु ५०० दरले थप जरिवाना तिराउने फैसलासमेत भएको थियो ।

गत असार १४ गते लु२च २४५४ नंको जिपमा सवार घराम्दीकी नेपालीलाई बेनी–जोमसोम सडकअन्तर्गत तिप्ल्याङ खण्डको सडकबाट कालीगण्डकीमा खसालेर बेपत्ता भएका चालक खड्का सात दिनपछि असार २० गते आफैँ पोखराबाट प्रहरीको सम्पर्कमा आएका थिए । कालीगण्डकीमा बेपत्ता भनिएका चालक जीवितै फेला परेपछि सविताकी आमा राधिकाले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालयले खड्काविरुद्ध कर्तव्य ज्यान, अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दा चलाएको थियो ।

घराम्दीमा भएको भेलामा अविवाहित सविताको पेटमा रहेको गर्भ आफ्नो भएको स्वीकार गरेर आफूले जिम्मा लिने प्रतिबद्धता जनाउँदै अपहरणको शैलीमा गाडीमा हालेर भागेका खड्काले तिप्ल्याङमा ल्याएपछि गाडीसहित खसालेर उनको हत्या गरेको आरोपमा मुद्दा चलाइएको थियो । सविताकी काकी बिष्णु दमैले भतिजीलाई गुमाउनुपरे पनि अदालतको फैसलाबाट न्याय पाएको महसुस गरेको बताइन् ।अदालतको फैसलाअनुसार खड्कालाई बुधबार साँझ जिल्ला कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढाले बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083