पाकिस्तानसँग न्यूजिल्याण्डको लज्जास्पद पराजय, यासिर शाहले एक्लै लिए १४ विकेट
वि.सं.२०७५ मंसिर ११ मंगलवार १७:४१
shares

दुबइ। पाकिस्तानसँगको दोस्रो टेस्टमा न्यूजिल्याण्ड लज्जास्पद ढंगले पराजित भएको छ । दुबइमा भएको दोस्रो टेस्टको चौथो दिनमा पाकिस्तानले न्यूजिल्याण्डलाई एक इनिङ र १६ रनले पराजित गरेको हो । पहिलो इनिङमा यासिर शाह एक्लैले ८ विकेट लिएपछि फलोअनमा परेको न्यूजिल्याण्डले दोस्रो इनिङमा पनि यासिर शाह नै चम्किएपछि पाकिस्तानसँगको स्कोर बराबरीसमेत गर्न सकेन ।
टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले पहिलो इनिङमा ५ विकेटको क्षतिमा ४१८ रन बनाएपछि आफ्नो इनिङ समाप्तीको घोषणा गरेको थियो । पाकिस्तानका लागि हरिश सोहेलले १४७, बाबर आजमले नटआउट १२७, अजहर अलीले ८१ रन बनाएका थिए । जवाफी ब्याटिङमा उत्रिएको न्यूजिल्याण्डको इनिङ यासिर शाहले ध्वस्त पारे । शाहले एक्लै ४१ रन दिँदै ८ विकेट लिएपछि न्यूजिल्याण्ड ९० रनमै अलआउट भयो । पाकिस्तानको लागि अर्को १ विकेट हसन अलीले लिएका थिए । ब्राडली वटलिङ रनआउट भए ।
पाकिस्तानले न्यूजिल्याण्डलाई फलोअनमा राख्दै दोस्रो इनिङ ब्याटिङ गर्न निम्तो दियो । तर, दोस्रो इनिङमा पनि यासिर शाहले एक्लै ६ विकेट लिएपछि न्यूजिल्याण्ड ३१२ रनमै अलआउट भयो । एक्लै १४ विकेट लिएका यासिर शाह म्यान अफ द म्याच घोषित भए । पहिलो टेस्टमा नाटकीय रुपमा न्यूजिल्याण्डसँग ४ रनले हारेको पाकिस्तानले ३ टेस्टको सिरिज बराबरी गरेको छ । सिरिजको निर्णायक तेस्रो टेस्ट डिसेम्बर ३ मा सुरु हुनेछ ।












