निर्देशनविपरीत लगानी गर्ने वित्तीय संस्थालाई कडा कारवाही हुन्छ : गभर्नर ‘नेपाल’
वि.सं.२०७५ मंसिर ९ आइतवार १७:३१
shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले जथाभावी लगानी गर्ने बैंक तथा वित्तीय संस्थालाई कडा कारवाही गर्ने चेतावनी दिएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले नेपाल राष्ट्र बैंकको योजनाविपरीत लगानी गर्ने बैंक तथा वित्तीय संस्थालाई कडा कारवाही गर्ने चेतावनी दिएका हुन्।
विगत ३ महिनायता केही निजी क्षेत्रका बैंकहरूले ६७ अर्ब निक्षेप संकलन गरेर १६७ अर्ब लगानी गरेको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ। यसरी निक्षेपभन्दा बढी लगानी गर्ने बैंक तथा वित्तीय संस्थाहरूलाई कारवाही गर्ने नेपाल राष्ट्र बैंकको योजना छ। नेपाल वित्तीय संस्था कर्मचारी संघले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै गभर्नर नेपालले राष्ट्र बैंकको निर्देशनविपरीत लगानी गर्ने बैंकमाथि कडा निगरानी राख्न बैंक अन्तर्गतका ट्रेड युनियनहरूलाई पनि सचेत गराए।
गभर्नर नेपालले प्रविधिअनुसार आफ्ना योजनाहरूमा पनि परिवर्तन ल्याउन पनि बैंक तथा वित्तीय संस्थाहरूलाई सचेत गराए। कार्यक्रममा बोल्दै संघका अध्यक्ष पदमराज रेग्मीले बैंक तथा वित्तीय संस्थाहरूको क्षमता अभिवृद्धि कार्यक्रमको आवश्यक्तामाथि प्रकाश पारेका थिए।

























