तेक्वान्दोको दुवै सङ्घ विघटनको तयारी

4.9K
shares

काठमाडौँ। लामो समयदेखिको विवाद कायमै रहेपछि राष्ट्रिय खेलकूद परिषद् ९राखेप०ले तेक्वान्दोको दुई सङ्घलाई विघटनको तयारी शुरु गरेको छ। परिषद्ले अस्तित्वमा रहेका नेपाल तेक्वान्दो सङ्घ र नेपाल तेक्वान्दो सङ्घ (नेपाल)को विघटन प्रक्रिया अगाडि बढाएको हो। खेलाडी छनोटदेखि अन्तर्राष्ट्रिय सहभागितासम्म दुई सङ्घबीच विवाद आएपछि सङ्घलाई कात्तिक २७ गते परिषद्ले विवाद सल्टाउन सातदिने पत्र काटेको थियो।

पत्रमा राखेपले समान हैसियत र अस्तित्वमा रहेका दुवै सङ्घलाई मिलेर जान अल्टिमेटम दिएको उल्लेख छ। राखेपले दुवै सङ्घलाई लेखेको पत्रमा दुवै सङ्घ मिल्न नसकेको अवस्थामा माघमा आयोजना हुन लागेको आठौँ राष्ट्रिय खेलकूदको जिल्ला, प्रदेश र केन्द्रीय छनोट प्रभावित हुने उल्लेख छ। आठौँ राष्ट्रिय खेलकूद आगामी माघ २२ गतेदेखि आयोजना हुने तय भएको छ। राखेपको ११०औँ बोर्ड बैठकले दुई तेक्वान्दो सङ्घलाई आपसी छलफल गरी विवाद समाधान गराउन निर्णय भएको र सो निर्णय कार्यान्वयन गर्न पत्राचार गरेको थियो।

अहिले विश्व तेक्वान्दो महासङ्घले सम्बन्धन दिएको प्रकाश शम्शेर राणा नेतृत्वको नेपाल तेक्वान्दो सङ्घ र शिव कोइराला नेतृत्वको नेपाल तेक्वान्दो युनियन अस्तित्वमा छन्। दुवै सङ्घ अहिलेसम्म सकारात्मक नदेखिँदा तेक्वान्दोको विवाद सधैँका लागि समाप्त पार्न विघटन नै गर्नुपर्ने अवस्था आएको परिषद् स्रोतले जनाएको छ।

परिषद्का सदस्य सचिव केशवकुमार विष्टले दुवै सङ्घका पदाधिकारीलाई आपसी छलफलबाट समस्या समाधान गर्न आग्रह गर्दै भने, “उहाँहरूबीच जुँगाको लडाइँ चलिरहँदा परिषद् चुप लागेर बस्दैन । हामी कठोर निर्णय लिन बाध्य हुन्छौँ । अझै पनि दुई सङ्घका पदाधिकारीबीच छलफल होस् भन्ने चाहन्छौँ।” सहमतीका लागि दुई महीना समय दिन सकिने उनको भनाइ थियो। “त्यसपछि पनि उहाँहरूले केही निकास दिनुभएन भने हामी दुवै सङ्घ विघटन गछौँ, परिषद्लाई विघटनको अधिकार छ,” राखेप सदस्य सचिव विष्टले भने।

कोइराला अध्यक्ष रहेको सङ्घले विवाद सल्टाउन पाँच सदस्यीय वार्ता टोली गठन गर्दा राणा पक्षले भने परिषद्को पत्रका सम्बन्धमा केही प्रतिक्रिया दिएको छैन। नेपाल तेक्वान्दो सङ्घका उपाध्यक्ष हरिश्वर पोखरेलले राजनीतिक भ्रातृसंस्थासँग एकता नहुने बताए। “विसं २०३८ देखि खेल र खेलाडीको विकासमा लागेको हामीलाई राजनीतिकरुपमा अर्को संस्था जन्माइ विवादमा ल्याउन खोजियो, विघटन गरे अदालत जान्छौँ”, उनले भने। राखेपको पत्रपछि दुई चरणमा युनियनसँग वार्ता गरे पनि समाधान ननिस्केको उनको भनाइ छ। रासस


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083