कमाउन साउदी पुगेकै दिन पक्राउ, परिवारद्वारा सहयोगको अपील

5.11K
shares

काठमाडौं । बराहक्षेत्र नगरपालिका–२ सुनसरीका भुपाल बस्नेतको सकेसम्म स्वदेशमै केही काम गरौं भन्ने सोच थियो। सोही सोचले गर्दा उनले पहिलोपटकको वैदेशिक रोजगारी त्यागे पनि। वैदेशिक रोजगारीबाट खासै प्रगति हुने नदेखेपछि साउदी अरेबियाबाट घर फर्केका बस्नेतले गाउँमै उद्यमका लागि अनेक प्रयत्न गरे।

तर, उनले सोचे अनुसार देशको अवस्था कहाँ छ र ? विशेष सीप वा लगानी गर्न सक्ने पुँजी नहुँदासम्म गुजारा चलाउन हर कोही युवालाई अप्ठेरो कायमै छ। उनी पनि सोही अप्ठेरोबाट अछुतो रहन सकेनन्। यस्तै अप्ठेरोले गर्दा वैदेशिक रोजगारीको सपना त्यागेका ३७ वर्षीय बस्नेतलाई पुनः सोही बाटो अवलम्बन गर्न बाध्य बनायो। किनकि स्वदेशमा उद्यम गर्नलाई जति प्रयास गर्दा पनि उनी असफल भए। अनि २०७३ को जेठ ९ गते उनले पुनः वैदेशिक रोजगारीको बाटो तताए।

एक मनले विदेश जाने र अर्को मनले नजाने अन्योलमै रहेको बेला सुरु गरेको दोस्रोपटकको वैदेशिक रोजगारीले भने यतिखेर उनलाई संकटको भुमरीमा पुर्याएको छ। कमाउन साउदी पुगेकै दिन भुपाल पक्राउ परेका छन्। उनलाई अघिल्लोपटक साउदीमा भएको एक सडक दुघर्टनाको कारण देखाउँदै दोषी ठहर्याइएको छ। साउदीको जेलबाट मुक्त हुन भुपालले ७५ हजार तीन सय साउदी रियाल (करिब २३ लाख रुपैयाँ) को जोहो गर्नुपर्ने भएको छ।

६ वर्षअघि साउदीमा रहँदा सवारी चालकको काम गरेका भुपालको सडक दुर्घटनाको पुरानो मुद्दा बाँकी नै देखिँदा उनी विमानस्थबाटै पक्राउ परेको पत्नी सरिताले बताइन्। त्यतिखेर सवारी दुर्घटनामा साउदीका एक नागरिकको ज्यान गएको थियो। उक्त घटनामा उनको २५ प्रतिशत दोष देखिएको अदालतको फैसला थियो। तर, काम गर्दै आएको मालिकले अदालतको फैसला बमोजिमको ब्लड मनी तिरिदिने बताएका थिए।

सोही सल्लाहमा उनी नेपाल फर्केको र १३ महिना घरमै बसेको सरिताले बताइन्। ‘पुरानो त्यो मुद्दा अझै मिलिसकेको रहेनछ,’ उनले भनिन्, ‘साहुले झुठ बोल्दा अहिले ठूलो समस्या आइलाग्यो।
मुद्दा मिलिसकेको ठानेरै उनी ढुक्कले फेरि साउदी गएका थिए। साउदीको अध्यागमनले विमानस्थलमा औंठा छाप लिँदा उनको नाममा सवारी ज्यान मुद्दा देखियो। त्यही मुद्दाले विमानस्थल पुगेकै दिन भुपाल जेल परे। उनीसँगै गएका अन्य साथीहरू काममा लागे। भुपाललाई प्रहरीले विमानस्थलबाट बुरेदाह जेलमा पुर्यायो।

भुपाल ६ वर्षअघि जाँदा साउदीको अल हमिद कम्पनीमा सवारी चालकमा कार्यरत थिए। उनले चलाएको गाडी दुर्घटनामा परी एकजना साउदी नागरिकको ज्यान गएको हुनाले उनको गल्ती देखिएको थियो। त्यो घटनामा उनलाई क्षतिपूर्तिबापत साउदी रियाल ७५ हजार तीन सय तिर्नुपर्ने गरी अदालतबाट फैसला भयो। त्यो समयमा कम्पनीले क्षतिपूर्ति रकमको जिम्मा लिएको थियो।

सहयोगका लागि आग्रह

भुपालको उद्धारका लागि श्रीमती सरिताले आग्रह गरेकी छन्। ‘यस्तो होला भन्ने लागेकै थिएन,’ सरिताले भनिन्, ‘दशा लागेको रहेछ यस्तो बेला सहृदयी मनलाई सहयोगको लागि आग्रह गर्छौं।’ परिवारको आग्रहपछि विभिन्न ठाउँबाट सहयोग पनि जुट्न थालेको छ।

एनआरएनए साउदीको पहलमा जुटेको १६ हजार रियाल प्रवासी नेपाली समन्वय समितिलाई हस्तान्तरण गरेको छ। ब्लड मनी संकलनका लागि गन्तव्य नेपाल अल कासिमले सक्दो प्रयास गरिरहेको समितिका अध्यक्ष कुलप्रसाद कार्कीले बताए। भुपालको उद्धारका लागि हालम्म सात लाख रुपैयाँ संकलन भइसकेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083