टीकापुरमा १२ कक्षा पढ्दै गरेकी एक युवती मृत्त फेला

6.02K
shares

टीकापुर । कक्षा १२ मा पढ्दै गरेकी टीकापुर नगरपालिकाकी एक युवती मृत्त फेला परेकी छन् ।

टीकापुर नगरपालिका १ ब्लक नं १६ स्थित देवु राइस मिल नजिकै सोही ठाउँकी १६ वर्षीय पूजा रावल शव फेला परेको प्रहरीले जानकारी दिएको छ । उनको शव देवु राइस मिल नजिकै निर्माण भइरहेको एक घरको चौरमा घोप्टो परेको अवस्थामा स्थानीयले देखेका थिए । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । निर्माणाधीन घरको कोठामा उनको ज्याकेट र जुत्ता फेला परेको प्रहरीले बताएको छ ।

सोही घरभित्र दुई ठाउँमा वान्ता गरेको, एक ठाउँमा दिसा गरेको पाइएको इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी शिवबहादुर सिँहले जानकारी दिएका छन् । उनले ज्याकेटको खल्तीमा कालो पोलेथिनमा बेरेर राखेको अवस्थामा एक थान सल्फास जस्तै विषादी भेटिएको बताए । शव जाँचका क्रममा शरीरको कुनै पनि ठाउँमा चोट पटक नभेटिएको प्रहरीको भनाई छ । डिएसपी सिंहले पोष्टमार्टम पछि मात्रै घटनाका बारेमा केही तथ्य पत्ता लाग्ने बताए । उनी स्थानीय जनजागृती मावि सीतापुरमा कक्षा १२ मा अध्ययनरत थिइन् ।

उनी हिजो बिहान करिव ८ बजे ब्लक नं १२ मा रहेको कान्छी बज्यैको घर जान्छु भनेर हिंडेकी बताइएको छ । उनी कान्छी बज्यैको घरबाट साँझ ५ बजे खाना खाएर घर फर्किएकी थिइन् । उनका बुबाआमा रोजगारीका क्रममा भारतमा छन् । उनी सानै उमेरदेखि मामा घरमा बस्दै आएकी थिइन् ।