स्याङ्जामा प्रहरीबाट ठुलो परिणाममा घरेलु मदिरा बरामद गरि नष्ट
वि.सं.२०७५ मंसिर १८ मंगलवार १६:२२
shares

स्याङ्जा । जिल्ला प्रहरी कार्यालयले घरेलु मदिरा उत्पादन तथा बिक्रीलाई निरुत्साहित गर्न जिल्लाभर प्रहरी परिचालन गरेको छ । घरेलु मदिरा उत्पादन तथा बेचविखनलाई नियन्त्रण गर्ने उद्देश्यले जिल्लाभर नै प्रहरी परिचालन गरिएको उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।
जिल्लाका सबै स्थानमा रहेका प्रहरी निकायलाई कडाइका साथ घरेलु मदिरा नियन्त्रण गर्न परिचालन गरेका छौँ विष्टले भने, ’आगामी दिनमा घरेलु मदिरा उत्पादन तथा बिक्री वितरणलाई कडाइका साथ कदम चालिने छ ।’ प्रहरीले शुरुमा घरेलु मदिरा उत्पादन नगर्न आग्रह गर्ने तर पटक–पटक मदिरा उत्पादन तथा बिक्री वितरणमा संलग्न रहेको पाइए कानूनी दायरामा ल्याएर कानुनी कारवाहि अगाडी बढाउने विष्टले बताए ।
यसैबीच प्रहरीले स्याङ्जाको पुतलीबजार नगरपालिका विभिन्न वडा र चापाकोट नगरपालिकाका बजार क्षेत्रका भट्टी पसलमा छापामारी घरेलु मदिरा बनाउने कच्चा पदार्थ र तयारी मदिरा बरामद गरेको जनाएको छ । पुतलीबजार ३ र १४ बाट ठुलो परिणाममा मदिरा बरामद गरि नष्ट गरिएको प्रहरी नायव उपरिक्ष तथा जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी विष्टले जानकारी दिए ।
अहिले सम्म प्रहरीले ९५ लिटर मदिरा बनाउने कच्चा पदार्थ, ५ सय लिटर तयारी मदिरा नष्ट सहित बनाउन प्रयोग हुने सामाग्री बरामद गरेको जनाएको छ । बरामद गरिएको मदिरा स्थानीयवासी, जनप्रतिनिधि तथा पत्रकारको रोहबरमा नष्ट गरेको थियो ।
प्रहरीका अनुसार सबै भन्दा बढी घरेलु उत्पादन हुने क्षेत्र पुतलीबजार नगरपालिका स्थित जिल्ला अस्पताल क्षेत्र रहेको र अन्य क्षेत्रको खोजीकार्य भईरहेको जनाएको छ । अबैध घरेलु मदिराको विक्रि वितरण बढे सगै जिल्ला प्रहरी कार्यालय स्याङ्जाले यो कदम अगाडी सारेको हो । गैह्र कानुनी तवरले अबैध घरेलु मदिरा उत्पादन र विक्रि वितरण गर्न नपाईने व्यवस्था गरेको छ ।
जिल्लाका ग्रामिण क्षेत्रमा बढी मात्रमा अबैध घरेलु मदिरा उत्पादन गरिदै आएको छ । गल्याङ देखि वालिङका बजारमा भने पाल्पा देखि मदिरा ल्याउने क्रम रोकिएको छैन । यस विषयमा वालिङका वडा प्रहरी प्रमुख प्रहरी निरिक्षक शंकर आचार्यले यसमा हाम्रो चासो रहेको र अनुसन्धान जारी रहेको बताएका छन्। प्रहरीले अबैध घरेलु मदिरामा कडाई गर्न थालेपछि केही न्युनिकरण हुने विश्वास स्थानीयले लिएका छन् ।































