मनाङ पच्छ्याउँदै थ्रीस्टार : दुई क्लब अझै जीतका लागि सङ्घर्षरत

4.6K
shares

काठमाडौँ। शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत छैटौँ चरणका खेल सकिँदासम्म दईवटा क्लब अझै पहिलो जितका लागि सङ्घर्षरत छन्। छ खेल खेलिसकेका मछिन्द्र क्लब र न्यूरोड टिम (एनआरटी) अझै जितका लागि सङ्घर्ष गरिरहेका छन्। तर, रेलिगेशनबिनाको लिग हुनाले उनीहरूलाई केही राहत भने मिलेको छ।

छैटौं चरणका खेल सकिँदासम्म मनाङ मस्र्याङ्दी क्लबले शत प्रतिशत नतिजासहित उपाधि होडमा बलियो दाबेदारी प्रस्तुत गरिरहेको छ भने मनाङ्लाई थ्री स्टारले पच्छ्याइरहेको छ। गत असोज १३ गतेदेखि शुरु भएको लिगमा सहभागी १४ क्लबले छ\छ खेल खेलिसकेका छन् । कूल ९१ मध्ये छैटौं चरणसम्म आइपुग्दा ४२ खेल समाप्त भइसकेको छ। उपाधि दाबेदार क्लब मनाङ मस्र्याङ्दीले अहिलेसम्म सबै छ खेल जितेको छ।

मनाङसँगै अपराजित रहेको अर्को क्लब त्रिभुवन आर्मीले चार खेलमा जित र दुई बराबरी खेलेको छ। लिगमा यी दुई क्लबमात्र अहिलेसम्म अपराजित छन्। यस्तै एक खेल मात्र हारेका थ्री स्टार र सङ्कटा अङ्क तालिकामा आर्मी भन्दा अगाडि छन्। मनाङसँग आर्मी र थ्री स्टारलाई उपाधिको मुख्य दाबेदारको रुपमा हेरिएको छ। तर आर्मीले दुई खेल बराबरी खेलेपछि शीर्ष स्थानको मनाङभन्दा चार अङ्कले पछि परेको छ।