क्याथोलिक पादरीको हत्या गर्न फिलिपिन्सका राष्ट्रपतिको निर्देशन
वि.सं.२०७५ मंसिर २४ सोमवार १६:५६
shares

एजेन्सी । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले क्याथोलिक पादरीहरुको हत्या गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । उनको अभिव्यक्तिको चौतर्फी विरोध भईरहेको छ । उनले आफ्नो मुलुकका क्याथोलिक पादरीहरुलाई ‘बेकामी मुर्ख’ भन्दै उनीहरुलाई हत्या गर्नुपर्ने चेतावनी दिएका हुन् । राष्ट्रपति रोड्रिगोले भने, ‘ती मुर्ख र बेकामी पादरीहरुलाई मारिदेऊ १ तिनिहरु आलोचना मात्रै गर्छन् ।
स्थानीय सरकारी अधिकारीहरुलाई सम्बोधन गर्दै उनले यस्तो भनेका हुन् । रोड्रिगोले फिलिपिन्समा रहेका क्याथोलिक चर्चलाई ‘अति ढोंगी संस्था’ भन्दै आफूले पुज्ने देवता फरक भएको दावी गरे । फिलिपिन्सको जम्मा १० करोड जनसंख्यामध्ये ९० प्रतिशत जनसंख्या क्याथोलिक रहेको तथ्यांक छ । रोड्रिगोले भने धर्मको विषयमा यसअघि पनि विवादास्पद अभिव्यक्ति दिँदैं आएका थिए ।
यसअघि धर्म र ईश्वरमाथि नै आपत्तिजनक अभिव्यक्ति दिएका उनले आलोचना भएपछि आफूले ठट्टा गरेको प्रतिक्रिया दिएका थिए । यही डिसेम्बरयता फिलिपिन्समा तीनजना क्याथोलिक पादरीको हत्या भइसकेको छ । यसबीचमा यहाँ क्याथोलिक र विरोधीबीच धार्मिक द्धन्द्ध हुँदै आएको छ ।
आफ्नो आलोचना गर्ने कुनै नैतिक अधिकार नभएको भन्दै उनले क्याथोलिक चर्चविरुद्ध आलोचना गरेका हुन् । साथै उनले विश्वभर क्याथोलिक चर्चमा पादरीहरुले नै यौन हिंसा गर्ने आरोप लगाए ।















