अनन्त फुकुवा : थ्रीस्टार र मनाङबाहेकका क्लबबाट खेल्ने
वि.सं.२०७५ पुस ४ बुधवार १५:३९
shares

काठमाडौँ। राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङले जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल खेल्न पाउने भएका छन्। दुई ठूला क्लबबाट सम्झौता गरेपछि उनी जारी लिग खेल्नबाट वञ्चित हुँदै आएका थिए। अनन्तबारे विभिन्न सञ्चारमाध्यममार्फत समाचार बाहिर आएपछि लिग खेल्न दुवै थ्रीस्टार र मनाङ मस्र्याङ्दी क्लबसँग सम्झौता गरेका उनलाई अन्तिम समयमा दुवै क्लबले फुकुवा गर्न सहमति जनाएका हुन्।
दुवै क्लबले अनन्तको अनुबन्धन सम्झौता आफूसँग रहेको जिकिर गर्दै प्रतिद्वन्द्वी क्लबबाट खेल्न नदिने अडान लिएका थिए। सोही अडानका कारण राष्ट्रिय फुटबल टोलीका मुख्य खेलाडी अनन्तको खेल भविष्य नै जोखिमपूर्ण बनेको थियो। बुधबार दुवै क्लबका पदाधिकारी अखिल नेपाल फुटबल सङ्घ (एन्फा) गएर दुवै क्लबको सूचीमा रहेका अनन्तको नाम फिर्ता लिने एन्फा प्रवक्ता किरण राईले जानकारी दिए।
दुवै क्लबले खेलाडी दर्ताबाट अनन्तको नाम फिर्ता लिने भएपछि उनी एन्फाको कारवाहीबाट समेत जोगिने भएका छन्। दुवै क्लबसँग अनन्तले सम्झौता गरेको भेटिएपछि एन्फाले उनलाई कारवाहीको तयारी गरेको थियो। खेलाडीको भविष्यलाई हेरेर अनन्तको नाम फिर्ता लिने निर्णय गर्यौँ” थ्रीस्टार अध्यक्ष अरुणमान जोशीले भने, “फुटबलकै विकासमा लागेको हुनाले खेलाडीले गल्तीलाई माफ दिने विषयमा दुवै क्लबबीच सहमति जुटायौँ।
डिपिएलका लागि खेलाडी दर्ता बुधबारदेखि
धनगढी प्रिमियर लिग (डिपिएल) को तेस्रो संस्करणका लागि खेलाडी दर्ताको आवेदन खुला भएको छ। आवेदन बुधबारदेखि यही पुस १० गतेभित्र भर्नुपर्ने आयोजकले जनाएको छ। यो संस्करणमा सम्पूर्ण खेलाडीलाई एकै वर्गमा समावेश गरिएको छ। खेलाडीले फर्म भर्दा न्यूनतम रु ३० हजारदेखि अधिकतम दुई लाख ५० हजारसम्म आफ्नो मूल्य निर्धारण गर्न सक्नेछन्।
फर्म शुल्क डिपिएलकै वेबसाइटमा दिइएको इ–सेवाको लिङ्कमार्फत भुक्तानी गर्नुपर्नेछ। फर्मको शुल्क रु एक हजार तोकिएको छ। छ टोलीको सहभागिता रहने डिपिएल आगामी माघ १९ गतेदेखि फागुन ४ गतेसम्म धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ। रासस































