‘ए’ डिभिजन लिग : दशौँ चरणका खेल आजदेखि
वि.सं.२०७५ पुस ६ शुक्रवार १३:५५
shares

काठमाडौँ । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको १०औँ चरणका खेल आजदेखि हुँदैछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार १०औँ चरणमा खेल शुक्रबार तीन, शनिबार र आइतबार दुई(दुई खेल हुनेछन् । शुक्रबार पहिलो खेल सरस्वती युथ क्लब र मच्छिन्द्र क्लब तथा दोस्रो खेल हिमालयन शेर्पा क्लब र फ्रेण्ड्स क्लबबीच हुनेछ । दुवै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछन् ।
तेस्रो खेल जावलाखेल युथ क्लब र न्यूरोड टिम एनआरटीबीच हुनेछ । खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेलमैदानमा हुनेछ । त्यसैगरी शनिबार दुई खेल हुनेछन् । पहिलो खेलमा थ्रीस्टार र च्यासल युथ क्लबबीच खेल हुनेछ भने दोस्रो खेल सङ्कटा क्लब र ब्रिगेड ब्वाइजबीच हुनेछ । दुवै खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेलमैदानमा हुनेछ ।
दशौँ चरणको अन्तिम खेल आइतबार हुनेछन् । आइतबार पहिलो खेल दुई विभागीय टोली त्रिभुवन आर्मी र एपिएफबीच हुनेछ । दोस्रो खेल नेपाल पुलिस मनाङमस्र्याङ्दी क्लबबीच हुनेछ । लिगअन्तर्गत नवौँ चरणका खेल सकिँदासम्म मनाङ शतप्रतिशत नतिजासहित २७ अङ्कको साथ तालीकाको शीर्ष स्थानमा छ । मनाङलाई पछ्याइरहेको सङ्कटाको २४ अङ्क रहेको छ ।
२२ अङ्कका सात थ्रीस्टार तेस्रो, १८ अङ्कका साथ त्रिभुवन आर्मी चौथो, १५ अङ्कसहित नेपाल पुलिस पाँचौँ, १४ अङ्कका साथ हिमालयन शेर्पा छैटौँ, १३ अङ्कका साथ च्यासल युथ क्लब सातौँ स्थानमा छन् । यसैगरी १३ अङ्कका साथ एपिएफ आठौँ, १० अङ्कका साथ सरस्वती नवौँ, आठ अङ्कका साथ जावलाखेल युथ क्लब १०औँ, ब्रिगेड ब्वाइज, फ्रेण्डस, मच्छिन्द्र र न्यूरोड टिम (एनआरटी) क्रमशः ५, ५, ३ र १ अङ्कसहित ११औँ, १२औँ, १३औँ र १४औँ स्थानमा छन् । रासस


























