आगलागीबाट ध्वस्त भएको न्यौपाने बस्तीमा राहत सामग्री लैजाँदै मुख्यमन्त्री ‘शाही’
वि.सं.२०७५ पुस ९ सोमवार १२:२२
shares

कालिकोट । आगलागीबाट ८७ घर ध्वस्त भएको कालिकोटको पलाँता गाउँपालिका–१ न्यौपाने बस्तीमा प्रदेश–६ सरकारले राहत सामग्री लैजाने तयारी गरिरहेको छ ।
प्रदेश–६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाही सुर्खेतबाट हेलिकप्टरमा राहत सामग्री लिएर घटनास्थल जाँदैछन् । राहत लिन पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बम पनि अहिले सुर्खेत आइपुगेको जनाइएको छ । उनका अनुसार कम्मल, डसना, ज्याकेट लगायतका न्याना लुगा, भाँडाकुँडा, खाद्यान्न तथा तत्काल पुनःनिर्माण गर्नुपर्ने भएकाले सय बन्डल जस्तापाता पनि पीडितका लागि लगिँदैछ । अब केहीबेरमा हेलिकप्टरमार्फत राहत सामग्री लिएर प्रस्थान गरिने उनले जानकारी दिएका छन् ।
पीडित परिवारलाई २० हजार नगद
पलाँता गाउँपालिकाले आगलागीबाट पीडित परिवारलाई जनही २० हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ । प्रतिपीडित परिवारलाई २० हजार रुपैयाँ दिने निर्णय गरिएको अध्यक्ष बमले जानकारी दिएका छन् ।
पानी नहुँदा यसरी खरानी भयो सिङ्गो बस्ती
कालीकोटको पलाँता गाउँपालिका–१ खाँडामा आगलागी हुँदा न्यौपाने बस्ती नै सखाप भएको हो । न्यौपाने समुदायको मात्र बसोबास रहेको उक्त टोलका ८७ घरमध्ये ५२ घर पूर्ण रुपले जलेर नष्ट भएको पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले जानकारी दिएका छन् । उक्त स्थान न्यौपाने समुदायको उद्गम थलो मानिन्छ ।
‘सबै घर खरले छाएको तथा पानीको संकट भएको स्थान भएकाले तुरुन्तै आगो नियन्त्रणमा लिन नसकिएको हो,’ अध्यक्ष बमले भने, ‘प्रहरी र स्थानीय बासिन्दको प्रयासमा भर्खरै नियन्त्रणमा आएको छ, अझै राम्रोसँग आगो निभेको छैन ।’ आगलागी आइतबार राति १ बजे शुरु भएको थियो । तर आगलागी के कारणले भयो भन्ने खुलेको छैन ।
पलाँता गाउँपालिकाका कार्यालय सहयोगी कलमबहादुर बमका अनुसार आगलागीमा परी ६ जना सामान्य घाइते भएका छन् । १४ गोरु र दुई भैंसी मरेका छन् । गाउँमा पानीको समस्याका कारण पनि आगो समयमै नियन्त्रणमा लिन नसकिएको जनाइएको छ ।































