टेष्ट क्रिकेटमा अष्ट्रेलियाविरुद्ध भारतको सहज जित
वि.सं.२०७५ पुस १५ आइतवार १६:०४
shares

काठमाडौं । भारतले तेस्रो टेष्ट क्रिकेट खेलमा घरेलु टोली अष्ट्रेलियालाई पराजित गरेको छ ।
मेलबर्न क्रिकेट मैदानमा सम्पन्न तेस्रो खेलमा भारतले अष्ट्रेलियालाई १३७ रनले पराजित गरेको हो । ३९९ रनको चुनौती पछ्याउँदै दोस्रो इनिङ्स थालेको अष्ट्रेलियाले सबै विकेटको क्षतिमा २६२ रन मात्रै बनाउन सक्यो । अष्ट्रेलियाका लागि पट कुम्मिन्सले ६३ र साउन मार्सले ४४ रन बाहेक अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् । बलिङतर्फ भारतका रविचन्द्र जडेजा र जस्प्रित बुमराहले समान ३-३ विकेट लिए । यस्तै, मोहम्मद सामी र इशान्त शर्माले समान २-२ विकेट लिए ।
यसअघि अष्ट्रेलियाले आफ्नो पहिलो इनिङ्समा सबै विकेटको क्षतिमा १५१ रन मात्रै बनाएको थियो । भारतले आफ्नो दोस्रो इनिङ्समा आठ विकेटको क्षतिमा १०६ रन बनाएपछि पारीको समाप्तिको घोषणा गरेपछि अष्ट्रेलियाले ३९९ रनको चुनौती पाएको थियो । भारतले आफ्नो पहिलो इनिङ्समा भने ४४३ रन बनाएको थियो ।
जितसँगै भारतले चार खेलको टेष्ट शृंखलामा २-१ को अग्रता बनाएको छ । यसअघि पहिलो टेष्ट क्रिकेट खेलमा भारतले अष्ट्रेलियालाई ३१ रनले पराजित गरेको थियो । तर दोस्रो टेष्ट खेलमा भने भारतलाई अष्ट्रेलियाले १४६ रनले पराजित गरेको थियो ।















