बिग ब्यास लिग : सन्दीपले आज चौथो खेल खेल्दै
वि.सं.२०७५ पुस १७ मंगलवार १४:२६
shares

काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्सले आज बिग ब्यासमा लिगको आफ्नो चौथो खेल मेलबर्न रेनेगेड्सविरुद्ध खेल्दैछ। समान खेलबाट अंक तालिकाको दोस्रो स्थानमा रहेको मेलबर्न रेनेगेड्सविरुद्ध मैदान उत्रदा छैठौं स्थानको मेलबर्न स्टार्सले दोस्रो जितको खोजीमा हुनेछ।
सुरूवाती दुई खेलमा पराजित भएको मेलबर्न स्टार्सले तेस्रो खेलमा जित निकालेको थियो। सम्भवतः रेनेगेड्सविरुद्धको खेल नै नेपाली युवा लेग स्पिनर सन्दिपको बिग ब्यासमा अन्तिम खेल हुनेछ।
अघिल्ला तीन खेलमा उच्च प्रदर्शन गर्दै सबैको मन जितेका सन्दीप यसपछि बंगलादेश जाने भएकाले उनका लागि आजको खेल अन्तिम हुनेछ।
सन्दीपले स्यलहेट सिक्सर्सबाट बंगलादेश प्रिमियर लिग खेल्ने छन्। बंगलादेश प्रिमियर लिग आगामी शनिबारबाट सुरू हुनेछ। सन्दिपको पहिलो खेल आइतबार कोमिला भिक्टोरियन्ससँग हुनेछ। फेब्रुअरी २ तारिक मा लिग चरणका खेलहरू सकिँदा ८ तारिकमा बंगलादेश प्रिमियर लिगको फाइनल खेल हुनेछ। यता बिग ब्यासमा फेब्रुअरी १० मा मेलबर्न स्टार्सको लिग चरणको अन्तिम खेल हुनेछ।
सन्दीपले पहिलो खेलमा सिड्नी थन्डर्सका दुई विकेट हात पारे। होर्वाट हुरिकेन्सविरुद्ध दोस्रो खेलमा उनले तीन विकेट लिए। तेस्रो खेलमा सिड्नी सिक्सर्सविरुद्ध दुई विकेट लिएका सन्दीप जारी प्रतियोगितामा अहिलेसम्मका सर्वाधिक विकेट लिने खेलाडी बनेका छन्। पछिल्ला तिनै खेलमा सन्दीपको अर्को एउटा संयोग पनि बनेको छ। सबै खेलमा पुरै ओभर बलिङ गरेका सन्दीपले तिनै टिमका कप्तानलाई पेवेलियन फर्काइदिएका छन्। जुन एउटा अनौठो संयोग पनि हो।
क्यानबेरामा सम्पन्न पहिलो खेलमा सन्दीपले सिड्नी थन्डर्सका कप्तान शेन वाट्सनलाई आउट पारे भने दोस्रो खेलमा भने होर्वाट हुरिकेन्सका कप्तान म्याथ्यू वेडलाई क्याच आउट गरेका थिए। सन्दीपले तेस्रो तथा विजयी खेलमा सिड्नी सिक्सर्सका कप्तान मोजेज हेनिरिक्सलाई एलबिडब्लु धरापमा पार्दै पेवेलियन पठाएका थिए।
सिड्नीको एससीजीमा भएको पहिलो जितमा पनि निकै कसिलो बलिङ गरेका सन्दीपले चार ओभर बलिङ गर्दै १८ रन खर्चेर दुई विकेट लिएका थिए।
यस खेलमा मेलवर्न स्टार्सले पाँच विकेटको फराकिलो जित हात पारेको थियो। तीन खेल अनि तीन कप्तानीको आउटबारे सन्दीप भन्छन्, ‘यो एउटा संयोग हो, बलरले हरेक बलमा विकेट लिने उद्धेश्यका साथ बलिङ गर्छ तर कुन बलमा को आउट हुन्छ त्यो पत्तो हुँदैन।’
बिग ब्यास खेलिरहँदा उनले सिड्नीको मैदानमा सयौं नेपालीहरू राष्ट्रिय झन्डासहित उपस्थित भएको क्षण निकै खुसीको क्षण भएको सुनाए। पहिलो खेल वर्षाले बिथोलेपछि डकवर्थ लुइसमा सिड्नी थन्डर्ससँग हार बेहोरेको सन्दीपको टोलीले दोस्रो खेलमा होवर्टसँग पनि हार बेहोरेको थियो। तर, व्यक्तिगत रूपमा भने सन्दीपले दोस्रो खेलमा पनि पुरै ओभर बलिङ गर्दै महत्वपूर्ण तीन विकेट लिएका थिए।
बिग ब्यास क्रिकेटमा एडलेड स्ट्राईकर, ब्रिसबेन हिट, होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स, मेलबर्न स्टार्स, सिड्नी सिक्सर्स र सिड्नी थन्डर्स गरी ८ टिम समावेश छन्। राउण्ड रोबिन र नकआउट चरणमा हुने प्रतियोगिताको पछिल्लो संस्करण एडिलेड स्ट्राइकरले जितेको थियो।
यसैबीच सन्दीपको मंगलबार हुने खेल हेर्न राष्ट्रिय टोलीका कप्तान पारस खड्का पनि मैदानमा पुग्ने भएका छन्। एक्स्पर्ट क्रिकेट फेस्टिभलमा भाग लिन केहीदिनअघि पारस र यू-१९ टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी तीन साताका लागि अष्ट्रेलिया गएका थिए। मेल्वर्न रेनेगेड्सविरूद्ध मंगलबार नेपाली समयअनुसार दिउँसो दुई बजे हुने खेल पारसले मेल्वर्न स्टार्सकै डाइरेक्टर बक्समा बसेर हेर्ने एक्स्पर्ट एजुकेशन एन्ड भिसा सर्भिसेजका सिइओ सञ्जीव शर्माले जानकारी दिए।




























