अभागी जेम्स निशामः जसलाई क्रिकेट जगतमै विशाल विश्वरेकर्ड बनाउन १ बल पुगेन

5.32K
shares

काठमाडौं। न्यूजिल्याण्डको माउण्ट माउङगाइमा आज भइरहेको श्रीलंका र न्यूजिल्याण्डको पहिलो एकदिवसीय क्रिकेटमा न्यूजिल्याण्डका ब्याट्सम्यान जेम्स निशाम क्रिकेट दुई विशाल विश्वरेकर्ड बनाउनबाट चुके । मात्रै १३ बलमा ४७ रन बनाएका निशामसँग दुई फरक फरक विशाल विश्वरेकर्ड बनाउने सुनौलो अवसर थियो तर उनी त्यो सुनौलो अवसरलाई वास्तविकता बनाउनबाट झिनो अन्तरले चुके ।

न्यूजिल्याण्डको स्कोर ३१७ रन हुँदा ४७ औं ओभरको पाँचौं बलमा हेनरी निकोल्स रनआउट भएपछि ब्याटिङ गर्न आएका निशामले त्यसपछिको आभेरमा मात्र ब्याटिङ गर्ने अवसर पाए । अन्तिम २ ओभर बाँकी रहँदा बल्ल निशामको तुफान सुरु भएको थियो । इनिङको ४९ औं ओभरमा निशामसँग एक ओभरमा वन डे क्रिकेट इतिहासकै सर्वाधिक रन बनाउने अवसर थियो । थिसारा परेराको बलमा सुरुका ४ बलमा निशामले ४ वटै छक्का हाने । पाँचौं बल परेराले नो बल फाले त्यसमा निशामले २ रन थिए । त्यसपछिको फ्रि हिटमा पनि निशामले छक्का नै हाने ।

एक ओभरमा ५ छक्का र नो बलमा ३ रन बटुलेका निशामले यो ओभरमा ३३ रन बनाइसकेका थिए । अन्तिम बलमा छक्का हान्न सकेको भए उनले एक ओभरमा ३९ रनसहित एक दिवसीय क्रिकेटको एक ओभरको सर्वाधिक रन बनाउन सक्थे । अहिलेसम्म एकदिवसीय क्रिकेटमा सर्वाधिक एक ओभरको स्कोर दक्षिण अफ्रिकाका हर्शल गिब्सको नाममा छ । उनले २००६ मा नेदरल्याण्डविरुद्ध एक ओभरका ६ वटै बलमा छक्का हानेर ३६ रन बनाएका छन् । आज निशामसँग त्यो स्कोर उछिन्ने अवसर थियो तर अन्तिम बलमा उनले एक रन मात्र बनाउन सके । ३४ रनसहित उनी एक ओभरमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा दक्षिण अफ्रिकाका एबी डिभिलियर्ससँगै तेस्रो स्थानमा रहे ।

त्यसपछि पनि निशामसँग अर्को इतिहास रच्ने अवसर थियो । अन्तिम ओभर बाँकी छँदासम्म निशामले ९ बलमै ३६ रन बनाइसकेका थिए । उनीसँग एकदिवसीय क्रिकेटको इतिहासमा सबैभन्दा छिटो अर्धशतक बनाउँदै विश्वरेकर्ड बनाउने अवसर थियो । अहिलेसम्म एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो दक्षिण अफ्रिकाका एबी डिभिलियर्सले १६ बलमा अर्धशतक बनाएका छन् । अन्तिम ओभरमा स्ट्राइकमा पनि निशाम नै थिए । पहिलो बलमा उनले २ रन बनाए । दोस्रो बलमा १ रन लिएर स्ट्राइक म्याट हेनरीलाई दिए । तेस्रो बलमा हेनरीले चौका हाने र चौथो बलमा हेनरी क्याच आउट भए ।

हेनरी आउट भए पनि क्याच हुँदासम्म ब्याट्सम्यान क्रस भइसकेकाले निशाम नै स्ट्राइकमा आए । २ बल बाँकी थियो र ११ बलमा ३९ रन बनाएका निशाम स्ट्राइकमा थिए । अब निशामलाई दुवै बलमा छक्का हान्नुपर्ने थियो । २ बलमध्ये अन्तिम बलमा त उनले छक्का हान्न सके तर पाँचौं बलमा छक्का हान्न नसक्दा उनी इतिहास बनाउनबाट चुके । यद्यपि उनी आउट भएका भने थिएनन् । उनले १३ बलमै ४७ रन बनाइसकेका थिए र नटआउट थिए । थप एक बल मात्र पाएको भए त्यसमा चौका हानेर सबैभन्दा छिटो अर्धशतक बनाउने सम्भावना पूरा हुन सकेन किनकि ५० ओभर सकिइसकेको थियो ।

खेलमा टस जितेर ब्याटिङ रोजेको ज्यूजिल्याण्डले ५० ओभरमा ७ विकेटको क्षतिमा ३७१ रन बनाएको छ । ओपनर मार्टिन गप्टिलले १३८ रन बनाए । कप्तान केन विलियमसनले ७६, रस टेलरले ५४ रन बनाए । श्रीलंकाका लागि लासिथ मालिंगा, नुवान प्रदीप र थिसारा परेराले समान २–२ विकेट लिए । केही बेरमा श्रीलंका जवाफी ब्याटिङमा उत्रनेछ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083