सिन्धुपाल्चोक जिल्ला अदालतका अधिवक्ता पक्राउ
वि.सं.२०७५ पुस २४ मंगलवार १३:०९
7.22K
shares
shares

मेलम्ची । सिन्धुपाल्चोक जिल्ला अदालतका वैतनिक अधिवक्ता पुण्यप्रसाद खनाललाई प्रहरीले पक्राउ गरेको छ।
सरकारी कागजात किर्ते अनुसन्धानका क्रममा अधिवक्ता खनाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। सिन्धुपाल्चोक बलेफी गाउँपालिका-४ का एक व्यक्तिको जन्मदर्ता किर्तेका अभियुक्तलाई छुटाउन सहयोग गरेको आरोप खनाललाई लागेको छ।
खनालविरुद्ध कानुन व्यवसायी काउन्सिलमा पनि उजुरी परेको छ। चौतारा साँगाचोकगढी नगरपालिका पोखरेकी ‘ग’ भनिने (परिपर्तित नाम) महिला बलात्कार मुद्दामा पीडित र पीडक दुवैतर्फका मुद्दा आफैंले लेखेर आफैंले बहस गरेको भन्दै काउन्सिलमा उजुरी परेको हो।
हिरासतमा राखिएका खनाललाई लागेका आरोपउपर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विमलराज कँडेलले जानकारी दिएका छन्।































