अपराजित लिग च्याम्पियन मनाङ अन्तिम खेलमा फ्रेन्डस्‌सँग पराजित

4.34K
shares

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबलाई अन्तिम खेलमा फ्रेन्ड्स क्लबले हराएको छ।

अपराजित रहँदै लिग च्याम्पियन बन्ने दाउमा रहेको मनाङलाई लिगको अन्तिम खेलमा फ्रेन्डस्‌ले १-० ले हराइदियो।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको लिगको अन्तिम खेलमा ६ मिनेट थपिएको इन्जुरी टाइमको अन्तिम मिनेटमा फ्रिकिक बलमा हेडमार्फत गोल गर्दै फ्रेन्डस मनाङको कीर्तिमानी जितमा तगारो बनेको हो।

फ्रेन्ड्सका लागि विकास लामाले गोल गरेका थिए। जितसँगै फ्रेण्ड्सले पुछारको २ स्थानबाट माथि उक्लदै आगामी सिजनमा अंक गुमाउने खतरा टारेको छ। मनाङले खेल अवधिभर पाएको केही राम्रा अवसर गोलमा परिणत गर्न नसक्दा लिगका पछिल्ला १२ खेल जितेर पनि अन्तिम खेलमा हार व्यहोर्नुपर्‍यो।

मनाङले लिगको ट्रफीसँगै यसअघिनै नगद ५० लाख पुरस्कारसमेत पक्का गरिसकेको थियो। यस्तै १२ खेल जितेको मनाङले म्याच फि को रूपमा १३ खेलबाट ६ लाखसमेत पाएको छ। एन्फाले प्रत्येक खेलको विजेता टिमलाई नगद ५० हजार दिने घोषणा गरेको थियो।

यस सिजन संकटा उपविजेता बन्यो। उपाधिको दाबेदार थ्री स्टार तेस्रो हुँदा आर्मी क्लब चौथो बन्यो। लिगको ६ दशकभन्दा लामो इतिहासमा सर्वाधिक सफल रहेको मनाङले यो आठौं लिग उपाधि उचालेको हो।

मनाङले २०४३, २०४४ र २०४६ गरी लगातार तीन पटक उपाधि जितेको थियो। यस्तै मनाङले २०५७, २०६०, २०६२, २०७० र २०७५ मा लिगको उपाधि जित्दै मनाङले सर्वाधिक लिग जित्ने टोली भएको छ।

यो लिगमा मनाङले कस्तो खेल्यो

  • ब्रिगेड ब्वाइजविरुद्ध : ३–१ विजयी
  • एनआरटीविरुद्ध : २–० विजयी
  • थ्रीस्टारविरुद्ध : २–१ विजयी
  • एपिएफविरुद्ध : २–१ विजयी
  • सरस्वती युथविरुद्ध : २–० विजयी
  • जावलाखेल युथविरुद्ध : १–० विजयी
  • मच्छिन्द्रविरुद्ध : १–० विजयी
  • त्रिभुवन आर्मीविरुद्ध : १–० विजयी
  • च्यासल युथविरुद्ध : ३–१ विजयी
  • नेपाल पुलिसविरुद्ध : १–० विजयी
  • संकटाविरुद्ध : ३-१ विजयी
  • हिमालयन शेर्पाविरुद्ध : २-१ विजयी
  • फ्रेण्ड्सविरुद्ध : ० -१ ले पराजित
    जम्मा गरेको गोल :२४ गोल

जम्मा खाएको गोल-७

गोल अन्तर -१७

कसले कति पुरस्कार पाए

मनाङ (च्याम्पियन) : ५० लाख + १२ लाख रूपैयाँ
संकटा (दोस्रो) : ३५ लाख + ४ लाख ५० हजार रूपैयाँ
थ्री स्टार (तेस्रो) : २५ लाख + ४ लाख रूपैयाँ
आर्मी (चौथो) : १५ लाख + ३ लाख ५० हजार रूपैयाँ
एपीएफ (पाँचौ) : ७ लाख + ३ लाख ५० हजार रुपैयाँ
पुलिस (छैटौँ) : ५ लाख + २ लाख ५० हजार रूपैयाँ


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083